Logo

२८ चैत,वीरगञ्ज । बैशाख ४ गते बीरगन्जको गहवामाइ मन्दिर परिसरबाट पहिलो पटक डोलीयात्रा निकालिने भएको छ । चैते दशैँको अवसरमा मन्दिर परिसरबाट गहवामाइको निसान (ध्वजा) सहितको डोलीयात्रा निकालिने भएको हो ।

वीरगन्जसहित समग्र मधेस प्रदेशका साथै छिमेकी राज्य भारत बिहारका दर्शनार्थीको आस्थाको केन्द्र र शक्तिपिठको रुपमा रहेको गहवामाइको प्रेरणाबाट महाष्टमीका दिन डोलीयात्रा निस्कने जनाइएको छ । माइस्थान मन्दिर सञ्चालक समितिले डोलीयात्राको शुभारम्भ यस वर्षदेखि गर्न लागेको समितिका अध्यक्ष नरेन्द्र साहले जनाए ।

उनका अनुसार असोजमा हुने दसैँको आफ्नै बिशेष महत्व र धार्मिक महत्व र परम्परा छ, मुलुकभरी भब्यताका साथ मनाउने गरिन्छ । चैते दसैँको पनि मधेस प्रदेशमा आफनै महत्व रहेकाले चैते दसैँलाई भब्य बनाउन डोलीयात्राको आयोजना गर्न लागिएको हो ।

शक्तिपिठको रुपमा गहवामाइको पहिचान मुलुकभरी भएकाले दसैँ नयाँ बर्ष र अन्य धार्मिकउत्सव बाहेक दैनिक दुई देखि तीन हजारको हाराहारीमा दर्शनार्थीहरु गहवामाइको दर्शन तथा पूजापाठ र भाकल अनुसारको प्रसाद चढाउने गरेको उनले बताए ।

निसानसहितको डोलीयात्रामा लगभग दश हजारभन्दा बढीको सहभागिता हुने माइस्थान मन्दिर सञ्चालक समितिका सचिव कन्हैयालाल केशरीको अनुमान छ ।
डोली तथा निसान पूजाको शुभसाइत बैशाख ४ गते दिउँसो २ बजे र डोलीयात्राको साइत अपरान्ह ४ बजे रहेको जनाइएको छ ।


सम्बन्धित समाचार