Logo

१९ असोज, वीरगन्ज । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको बन्दसूचीको अन्तिम अन्तिम संशोधित नामावलीमा अघिल्लो निर्वाचनमा हारेका ठूला नेताहरुलाई यसपटक समानुपातिक सूचीमा राखेको पाइएको छ । यो सूचीमा सभापति शेरबहादुर देउवा पत्नी आरजु राणादेखि पूर्व उपप्रधानमन्त्रीहरु बिमलेन्द्र निधिदेखि गोपालमान श्रेष्ठसम्म छन् ।कांग्रेसले खस आर्य महिलातर्फ पहिलो नम्बरमा अम्बिका बस्नेतलाई राखेको छ ।

दोस्रोमा सरिता प्रसाइलाई राखिएको छ । यसअघि पहिलो नम्बरमा रहेकी सभापति पत्नी आरजुलाई तेस्रो नम्बरमा सारिएको छ ।आरजु यसअघि कैलाली ५ बाट प्रत्यक्ष निर्वाचन हारेकी हुन् । उनलाई बाम गठबन्धनका तर्फबाट एमालेका नारदमुनि रानाले हराएका थिए । यस्तै गृहमन्त्री बालकृष्ण खाँडकी पत्नी मञ्जु खाँड छैटौं नम्बरमा छिन् ।खस आर्यतर्फ पुरुषको सूचीको सुरुमै अर्का पराजित उम्मेदवार प्रकाश शरण महत छन् ।

उनी यसअघि २०७४ को निर्वाचनमा काठमाडौं ५ बाट एमालेका ईश्वर पोखरेलसँग पराजित भएका थिए । महत अहिले कांग्रेसका प्रवक्ता हुन् । खस आर्य पुरुषतर्फ दोस्रोमा वसन्त भट्टराई र तेस्रोमा आनन्द प्रसाद ढुंगाना छन् ।यस्तै आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा सरस्वती वजीमय छिन् । दोस्रोमा लीला वोखिा र तेस्रोमा सीता रानामगर छिन् । यस्तै आदिवासी जनजाति पुरुषतर्फ पनि अघिल्लो निर्वाचनमा पराजित उम्मेदवार नै छन् ।पहिलो नम्बरमा गोपालमान श्रेष्ठ छन् ।

उनी २०७४ को निर्वाचनमा स्याङजा २ बाट एमालेकी पद्मा कुमारी अर्यालसँग हारेका हुन् । चुनाब हार्दा उनी बहालवाला उपप्रधानमन्त्री र शिक्षामन्त्री थिए । आदिवासी जनजाति पुरुषतर्फ दोस्रोमा केशरमान रोक्का र तेस्रोमा सन्दिप राना छन् ।दलित महिलातर्फ पहिलो नम्बरमा चितवनकी शान्ति परियार छिन् । यस्तै दोस्रोमा रुपा विक र तेस्रोमा सिता मिजार छिन् । यस्तै दलित पुरुषतर्फ पहिलोमा जीवन परियार, दोस्रोमा लोक बहादुर सुनार र तेस्रोमा हरिशरण नेपाली छन् ।

यस्तै मधेशी महिलातर्फ १ नम्बरमा नगीना कुमारी यादव छिन् । दोस्रोमा मुक्ता कुमारी यादव र तेस्रोमा चन्दा चौधरी छिन् । यस्तै मधेशी पुरुषतर्फ पनि पहिलो नम्बरमा अघिल्लो चुनाब हारेका प्रभावशाली नेता बिमलेन्द्र निधि छन् ।निधि पार्टीका उपसभापति, उपप्रधानमन्त्री र गृहमन्त्री भइसकेका व्यक्ति हुन् । निधि अघिल्लो निर्वाचनमा धनुषा ३ बाट तत्कालीन राजपाका राजेन्द्र महतोसँग पराजित भएका थिए ।

यस्तै मधेशी पुरुषतर्फ दोस्रोमा अनिल रुंगटा र तेस्रोमा रामचन्द्र तिवारी छन् ।यस्तै थारु महिलातर्फ एक नम्बरमा कल्पना चौधरी, दोस्रोमा विना थनेत र तेस्रोमा जीवन राना थारु छन् । थारु पुरुषतर्फ योगेन्द्र चौधरी, चुम नारायण तवेदार र फिरु राना छन् । मुस्लिम महिलातर्फ जावेदा खातुन जागा, दिल कुमारी सुवेदी (कमाल) र नजवुल खान छन् ।यस्तै मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमा पनि अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ हारेका प्रभावशाली नेता फरमुल्लाह मन्सुर छन् ।

उनी यसअघि श्रम तथा रोजगार मन्त्री भइसकेका छन् । उनी अघिल्लो निर्वाचनमा बारा ३ मा तेस्रो भएका थिए । निर्वाचन संघीय समाजवादी फोरमका रामबाबु कुमार यादवले जितेका थिए । दोस्रो एमालेका अदयानन्द पाण्डे भएका थिए ।


सम्बन्धित समाचार