Logo

२० असोज, वीरगन्ज । भरतपुर महानगरपालिकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सर्तक रहन आग्रह गरेको छ । आपतकालिन सञ्चालन केन्द्र तथा विपद् व्यवस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाले नारायणी र राप्ती नदीका पानीको सतह बढ्दै गएकाले उच्च सावधानि अपनाउन आग्रह गर्नुभएको छ । भरतपुर महानगरका २९ वडामध्ये १२ वडाहरु बाढीको जोखिममा छन् ।राप्ती र नारायणी दुवै नदिको तटीय क्षेत्र भरतपुर २७ र २८ नम्वर वडामा बढी जोखिम छ । वडा नम्बर १, ३, ५, १६, १८, २६, २७, २८ वडाका नारायणी नदीको तटीय क्षेत्रमा पर्ने वस्तीहरुमा जोखिम रहेको छ ।

यस्तै वडा नम्बर २२, २३, २४, २५ र २८ नम्बर वडाका राप्ती नदीको तटीय क्षेत्रका वस्तीहरु पनि जोखिममा छन् । थपलियाका अनुसार अहिलेसम्म बाढीले आज (बिहीबार) दिउसोसम्म कुनै धनजनको क्षती नभएको बताउनुभयो ।अविरल वर्षाका कारण बाढीको सतह निरन्तर बढिरहेकाले तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सर्तक रहन महानगरले आग्रह गरेको हो ।

आपतकालिन सम्पर्क व्यक्ति थपलियाका अनुसार भरतपुर–२६ को भगडी क्षेत्रमा नारायणीको बाढी वस्ती पस्न सुरु भएको छ । शिवालय मन्दीर क्षेत्रमा तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित रुपले राखिएको बताउनुभयो । २ वटा होटल र ५ घरहरु उच्च जोखिममा छन् । ती क्षेत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल सहितको सुरक्षाकर्मी पुगेको छ ।नारायणी नदीमा दिउसो २ बजे नारायणी पुलमुनिको पानीको सतह ११.१३ मिटर पुगेको छ । ७.३ मिटर चेतावनीको सतह पार गरिसकेपनि यतिबेला नदीको सतह स्थिर छ । यस्तै नारायणीको बहाब दिउसो २ बजे देवघाट क्षेत्रमा ८.१९ मिटर पुगेको छ ।

७.३ मिटर चेतावनी र ९ मिटर जोखिमको विन्दु मानिन्छ । दिउसो २ बजेसम्म चितवनको भोर्लेमा पानीको सतह ८.३९ मिटर, कालिखोलामा ९.१४ मिटर र लोथरमा ४.१४ मिटर पुगेको छ । भरतपुर महानगरको बजार क्षेत्रमा पानीको निकास नहुदा धेरै सडकहरु जलमग्न बनेका छन् ।

यस्तै आगामी शनिबारसम्म देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आइतबारदेखि भने मौसममा क्रमशःसुधार आउने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभएको हो । हाल नेपालमा दक्षिण–पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको छ । वर्षाका कारण कतिपय ठाउँमा दैनिक जीवनयापन प्रभावित भएको छ ।


सम्बन्धित समाचार