२० जेठ,वीरगञ्ज । रौतहटको कटहरिया नगरपालिका मा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले करिब दुई वर्षदेखि तलब नपाएको भन्दै थालेको आन्दोलन थप चर्किएको छ। कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै नगरपालिका कार्यालयमा तालाबन्दीसमेत गरेका छन्।
कर्मचारीहरूका अनुसार गत जेठ ११ गतेदेखि जारी आन्दोलन अन्तर्गत सुरुमा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पन्तको कार्यकक्ष बाहेक अन्य सबै शाखामा तालाबन्दी गरिएको थियो। तर समस्या समाधानका लागि कुनै ठोस पहल नभएको भन्दै उनीहरूले गत सोमबारदेखि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन्।
आन्दोलनरत कर्मचारी मुकुन्द यादवले लामो समयदेखि तलब नपाउँदा कर्मचारीहरू आर्थिक तथा मानसिक तनावमा परेको बताए। उनका अनुसार पटक–पटक आवाज उठाउँदा नगरपालिकाले एक–दुई महिनाको तलब मात्रै उपलब्ध गराउने गरे पनि मूल समस्या भने समाधान हुन सकेको छैन।
यस्तै कर्मचारी रामानन्द पासवानले नियमित पारिश्रमिक नपाउँदा दैनिक जीवन सञ्चालन गर्न समेत कठिन भएको गुनासो गरे। उनले कर्मचारीहरूको जायज मागप्रति नगरपालिकाले बेवास्ता गरेको आरोप लगाए।
क्यान्सर पीडित कर्मचारीको उपचारमा आर्थिक संकट
कटहरिया नगरपालिका–२ हथियाही निवासी कार्यालय सहयोगी श्रीराउत बरै हाल क्यान्सर रोगसँग संघर्ष गरिरहेका छन्। उनी विगत डेढ महिनादेखि भरतपुर क्यान्सर अस्पताल मा उपचाररत छन्। परिवारका अनुसार नगरपालिकाबाट करिब २० महिनाको तलब नपाउँदा उपचार खर्च व्यवस्थापन गर्न गम्भीर समस्या भइरहेको छ।
समाजसेवी विनोदलाल कर्ण ले बिरामी कर्मचारी एकातिर रोगसँग लडिरहेको र अर्कोतर्फ आर्थिक अभावले परिवार थप पीडामा परेको बताए। उनका अनुसार उपचार, औषधि, अस्पताल बसाइ तथा आवतजावत खर्च जुटाउन परिवारलाई निकै कठिन भइरहेको छ।
हाल बरैको उपचार तथा हेरचाहको जिम्मेवारी उनका ज्वाइँ महेन्द्र प्रसाद चौरसिया ले सम्हालिरहेका छन्।
कर्मचारीहरूको आन्दोलनका कारण नगरपालिकाको दैनिक प्रशासनिक सेवा प्रभावित बनेको छ। आन्दोलनरत कर्मचारीहरूले आफूहरूको बक्यौता तलब भुक्तानी तथा समस्या समाधान नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
लामो समयदेखि तलब नपाउँदा कर्मचारीहरूको जीवनयापन, स्वास्थ्य उपचार तथा पारिवारिक व्यवस्थापनमा गम्भीर असर परेको भन्दै उनीहरूले सम्बन्धित निकायसँग तत्काल समाधानको माग गरेका छन्।




















