२० जेठ, (माडी) चितवन । माडी नगरपालिकाको आयोजनामा जारी मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्तर्गत छात्र र छात्रा तर्फको उपाधिका लागि जनकल्याण माध्यमिक विद्यालय र दिवाकर स्मृति माध्यमिक विद्यालय भिड्ने भएका छन्। बुधबार सम्पन्न छुट्टाछुट्टै सेमिफाइनल खेलहरूमा प्रभावशाली जित दर्ता गर्दै दुवै विद्यालयले प्रतियोगिताको फाइनल यात्रा तय गरेका हुन्।
बुधबार भएको पहिलो प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा जनकल्याण माध्यमिक विद्यालयले सोमेश्वर माध्यमिक विद्यालयमाथि ३–० गोलअन्तरको सहज जित निकाल्यो। खेलको सुरुवाती समयदेखि नै सोमेश्वरलाई दबाबमा राखेको जनकल्याणका लागि अनिल परियार, रोहित राई र मन्दित थापाले समान एक–एक गोल गरे। खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीको जितको आधार तय गरेका जनकल्याणका रोहित गुरुङ खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।
त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा दिवाकर स्मृति माध्यमिक विद्यालयले बालविकास इङ्ग्लिस स्कुललाई ८–० को विशाल गोलअन्तरले पराजित गर्दै प्रतियोगिताकै सबैभन्दा फराकिलो नतिजा आफ्नो पोल्टामा पारेको छ।
दिवाकर स्मृतिको यो एकतर्फी र शानदार जितमा स्टार स्ट्राइकर सहारा क्षेत्री एक्लैले पाँच गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन। टोलीका लागि थप गोल गर्ने क्रममा सशिका चापागाईंले दुई तथा विश्व बरालीले एक गोलको योगदान दिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका दिवाकर स्मृतिका सशिका चापागाईं ‘म्यान अफ द म्याच’ चुनिइन।
भोलि माडी मावि र विद्याज्योति भिड्ने
प्रतियोगिता अन्तर्गत बिहीबार (भोलि) हुने खेलमा माडी माध्यमिक विद्यालय र विद्याज्योति इङ्ग्लिस स्कुलबीच रोचक प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
स्थानीय तहमा विद्यालयस्तरका खेलाडीहरूको लुकेको खेल प्रतिभा प्रस्फुटन गराउने मूल उद्देश्यका साथ माडी नगरपालिकाले यो प्रतियोगिता आयोजना गरेको हो।
मेयर कप फुटबल प्रतियोगिताले माडी क्षेत्रका युवा तथा विद्यार्थीहरूमा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै आगामी दिनमा राष्ट्रिय स्तरका नयाँ खेल प्रतिभा उत्पादनमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको स्थानीय खेलप्रेमीहरूले बताएका छन्।




















