Logo

३ साउन, चितवन । चितवनको माडी नगरपालिकामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोपमा एक जना र उनलाई सहयोग गरेको आरोप लागेका अर्का एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय माडीका अनुसार पक्राउ पर्नेमा माडी नगरपालिका–३, पाकिस्तान टोलका १९ वर्षीय सफर राजमिया र उनलाई सहयोग गरेको आरोप लागेका २३ वर्षीय अजात आलम रहेका छन्।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक किरण राईका अनुसार दुवै जनालाई उनीहरूको घरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ।

प्रहरी र पीडित परिवारका अनुसार माडी नगरपालिका–१, बनकट्टाकी १३ वर्षीया बालिकालाई घर नजिकैको खोलाछेउस्थित जंगल क्षेत्रमा लगेर घटना भएको आरोप छ।

पीडित परिवारका अनुसार घटना भएको राति बालिका करिब राति ९ बजे घरबाट बाहिर निस्किएकी थिइन्। केही समयसम्म घर नफर्किएपछि परिवारले खोजी गर्ने तयारी गरिरहेको अवस्थामा करिब ११ बजेतिर दुई जनाले मोटरसाइकलमा ल्याएर घर पछाडिको क्षेत्रमा छोडेर गएको उनीहरूको भनाइ छ।

परिवारका सदस्यहरूले त्यसबेला घटनाबारे आफूहरू अनभिज्ञ रहेको र पछि मात्रै बालिकाबाट घटनाको जानकारी पाएको बताएका छन्।

पीडितका आमाबुवाले नाबालिकालाई ललाईफकाई योजनाबद्ध रूपमा घटनास्थलसम्म लगिएको दाबी गर्दै संलग्न व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन्।

पीडित बालिकाको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको परिवारले जनाएको छ। प्रहरीले पीडितको स्वास्थ्य अवस्था, घटनाको प्रकृति तथा अन्य प्रमाण संकलन गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले घटनासम्बन्धी अनुसन्धान जारी रहेकाले थप तथ्य प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै