Logo

४ साउन,वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित पर्सा राष्ट्रिय निकुञ्जको घना जंगलको बीचमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल श्री श्री १०८ बाबा दुधेश्वरनाथ महादेव रामभौडी भाथा धाममा यस वर्षको वार्षिक मेला साउन १४ गतेदेखि विधिवत् रूपमा एक महिनासम्म सञ्चालन हुने भएको छ।

प्राकृतिक सौन्दर्यले भरिएको जंगलको काखमा रहेको यो प्राचीन धाम पर्सा जिल्लाकै प्रमुख धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ। पुस्तौंदेखि सञ्चालन हुँदै आएको यस मेलामा नेपाल तथा भारतका विभिन्न राज्यबाट हरेक वर्ष ठूलो संख्यामा श्रद्धालु भक्तजन भगवान् दुधेश्वरनाथ महादेवको दर्शन, जलाभिषेक र पूजाआजाका लागि आउने गरेका छन्।

भाथा धाम मेला व्यवस्थापन समितिका अलखदेव चौधरी थारुका अनुसार साउन १० गतेदेखि धाममा आवतजावत खुला गरिनेछ भने साउन १४ गतेबाट औपचारिक रूपमा मेला शुभारम्भ हुनेछ। यस वर्ष पहिलो सोमबार साउन १८ गते परेकाले त्यस दिन विशेष भीड हुने अपेक्षा गरिएको उनले बताए।

समितिका सदस्य शम्भु यादवका अनुसार साउन महिनाभर विशेष मेला लाग्ने परम्परा रहेको छ। वर्षभर वैशाख, माघे पञ्चमी र महाशिवरात्रिमा पनि विशेष पूजा तथा मेला लाग्ने भए पनि साउन महिनाको मेला सबैभन्दा ठूलो, धार्मिक दृष्टिले महत्वपूर्ण र आकर्षक मानिन्छ।

तयारी तीव्र, श्रद्धालुको सुविधाका लागि विशेष व्यवस्था श्र

द्धालुहरूको सुविधालाई प्राथमिकतामा राख्दै धाम क्षेत्रमा सडक मर्मत, कल्भर्ट निर्माण, स्वच्छ खानेपानी, शौचालय, बिजुली बत्ती, सरसफाइ तथा सुरक्षा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको समितिले जनाएको छ। पूजा सामग्री, प्रसाद, भोजन, खेलतमासा तथा अन्य व्यापारिक स्टलहरू पनि साउन १० गतेदेखि सञ्चालनमा आउनेछन्।

मेला व्यवस्थापन समितिका अलखदेव चौधरी थारूका अनुसार यस वर्ष विगतभन्दा अझ व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न रूपमा मेला सञ्चालन गरिनेछ। भीड व्यवस्थापन, स्वास्थ्य सेवा, आपतकालीन उद्धार, सरसफाइ तथा महिला–पुरुषका लागि छुट्टाछुट्टै स्नान र कपडा फेर्ने स्थानको व्यवस्था गरिएको उनले जानकारी दिए।

सयौं वर्ष पुरानो पहाडको टुपोमा अवस्थित दुधेश्वरनाथ महादेव मन्दिर धार्मिक विश्वासका कारण विशेष प्रसिद्ध रहेको छ। यहाँ श्रद्धापूर्वक पूजा–अर्चना गर्दा पारिवारिक सुख–शान्ति, सन्तान प्राप्ति र मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ।

आर्थिक गतिविधि र धार्मिक पर्यटनको सम्भावना

स्थानीयवासीका अनुसार भाथा धाम धार्मिक केन्द्र मात्र नभई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा पनि स्थापित हुँदै गएको छ। मेला अवधिमा हुने भक्तजनको आगमनले स्थानीय व्यापार, होटल, यातायात तथा साना व्यवसायमा उल्लेखनीय आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

ग्रामीण क्षेत्रका पत्रकार चिरञ्जीवी यादवका अनुसार भाथा धामको धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार–प्रसार गर्न सके यस क्षेत्र धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना रहेको छ।

मेला व्यवस्थापन समितिले सम्पूर्ण श्रद्धालु भक्तजनलाई अनुशासित, सुरक्षित र स्वच्छ वातावरणमा भगवान् श्री श्री १०८ बाबा दुधेश्वरनाथ महादेवको दर्शन गरी पुण्य लाभ लिन हार्दिक निमन्त्रणासमेत गरेको छ।


सम्बन्धित समाचार