४ साउन,काठमाडौं। उत्तरी भियतनाममा गत साता परेको अविरल वर्षासँगै आएको आकस्मिक बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ। तीन जना अझै बेपत्ता रहेका छन्।
विपद् तथा बाँध व्यवस्थापन प्राधिकरणका अनुसार विपदमा परी १० जना घाइते भएका छन्। मृत्यु हुने सबै चाउ प्रान्तका बासिन्दा हुन्। गत बुधबारदेखि आइतबारसम्म परेको लगातारको वर्षापछि आएको बाढी र पहिरोले उक्त क्षेत्रमा व्यापक जनधनको क्षति पुर्याएको हो।
प्रारम्भिक विवरणअनुसार विपद्का कारण ४२७ घर पूर्ण रूपमा ध्वस्त वा क्षतिग्रस्त भएका छन्। साथै, उच्च जोखिममा रहेका क्षेत्रबाट करिब १४० परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
अधिकारीहरूले विपदबाट करिब ३६२.४६ अर्ब भियतनामी डङ (झण्डै १ करोड ४३ लाख अमेरिकी डलर) बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरेका छन्।
स्थानीय प्रशासनले प्रभावित क्षेत्रको क्षतिको विस्तृत विवरण सङ्कलन गर्नुका साथै बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ।




















