Logo

४ साउन, काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएर आइतबारदेखि बेपत्ता भएका १४ जना महिलाहरू अन्ततः सकुशल आफ्नै परिवारको सम्पर्कमा आएका छन् ।

भीमदत्त नगरपालिका–१९, बागफाँटाका उनीहरू जङ्गलभित्र च्याउ खोज्ने क्रममा अन्जानवश बाटो बिर्सिएर सम्पर्कविहीन हुन पुगेका थिए। निकुञ्ज क्षेत्रमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीद्वारा तीव्र खोजी अभियान जारी रहेकै बेला उनीहरू सोमबार मध्याह्न सवा १२ बजेतिर आफैँ परिवारको सम्पर्कमा आएको वडाध्यक्ष जगुराम थारू चौधरीले पुष्टि गरेका छन् ।

सबै महिलाहरू सुरक्षित रहेको खबरसँगै स्थानीय स्तरमा राहतको सास फेरिएको छ भने उनीहरूको वास्तविक अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारीसहितको टोली नै घटनास्थलतर्फ पुगेको छ ।

यसअघि, आइतबार साँझदेखि नै सोही निकुञ्ज क्षेत्रमा हराइरहेका बेल्डाडी गाउँपालिका–२ का अन्य ३ जना महिलालाई पनि नेपाली सेनाको रणसिंह दल गणबाट खटिएको उद्धार टोलीले सोमबार बिहानै सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइसकेको थियो ।

निकुञ्जको घना जङ्गलमा अवैध रूपमा च्याउ टिप्न छिरेका महिलाहरूको विभिन्न समूह यसरी बेपत्ता भएपछि सुरक्षा निकाय र प्रशासनमा निकै खैलाबैला मच्चिएको थियो । हाल सबै महिलाहरू सकुशल घर फर्किएसँगै सुरक्षाकर्मीले चलाएको ठूलो खोजी अभियान पनि सफल भएको छ ।


सम्बन्धित समाचार