३ साउन, वीरगञ्ज । ६४औँ इन्जिनियर्स डेका अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन ९एनईए० वीरगञ्ज केन्द्रले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ। वीरगञ्ज–१४ स्थित बीआईटी इन्जिनियरिङ कलेजमा आयोजित कार्यक्रममा नेशनल मेडिकल कलेज, वीरगञ्जले क्लिनिकल सहयोग गरेको थियो।
नेपाल इन्जिनियर्स एशोसिएसन वीरगञ्ज केन्द्रका अध्यक्ष इ. प्रियांशु कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एशोसिएसनका कोषाध्यक्ष इ. इकबाल हुसेनको समन्वय रहेको थियो। कार्यक्रममा इन्जिनियरिङका विद्यार्थी, प्राध्यापक, पेशाकर्मी तथा एशोसिएसनका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा नेशनल मेडिकल कलेज, वीरगञ्जका क्लिनिकल साइकोलोजिस्ट सन्देश सावन्तले मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन, कार्य–जीवन सन्तुलन, मानसिक लचकता तथा आवश्यक पर्दा समयमै मनोवैज्ञानिक परामर्श लिनुपर्ने विषयमा प्रस्तुति दिएका थिए।
प्रस्तुतिपछि सहभागीहरूसँग अन्तरक्रियात्मक छलफलसमेत गरिएको थियो। कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न जिज्ञासा राख्दै व्यक्तिगत तथा व्यावसायिक जीवनमा मानसिक स्वास्थ्यको महत्वबारे जानकारी प्राप्त गरेका थिए।
नेशनल मेडिकल कलेज, वीरगञ्जले स्वास्थ्य प्रवर्द्धन तथा समुदायमुखी कार्यक्रममार्फत मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको जनाएको छ।
नेपाल इन्जिनियर्स एशोसिएसनले पनि इन्जिनियरिङ पेशामा बढ्दो मानसिक दबाबलाई मध्यनजर गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले पेशाकर्मी तथा विद्यार्थीमा मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।




















