Logo

३ साउन, चितवन । चितवन प्रहरीले क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) तथा अनलाइन सट्टेबाजी (बेटिङ) कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको दुई वटा मोबाइल फोनबाट करिब ९० लाख रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी तथा अनलाइन कारोबारसँग सम्बन्धित विवरण फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विशेष सूचनाका आधारमा कालिका नगरपालिका–६, खोलेसिमल निवासी ४४ वर्षीय नारायण श्रेष्ठलाई पक्राउ गरिएको हो।

प्रहरीले २०८३ साउन २ गते श्रेष्ठलाई नियन्त्रणमा लिएपछि उनका दुई वटा मोबाइल फोनको प्रारम्भिक डिजिटल परीक्षण गरेको थियो। परीक्षणका क्रममा एउटा रेडमी (Redmi) मोबाइलमा अनलाइन सट्टेबाजीका लागि रकम ‘लोड’ तथा ‘अनलोड’ गर्ने Mobcash नामक मोबाइल एप सञ्चालनमा रहेको भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त एपसँग आबद्ध खातामा ईपीओएस लिमिट २ लाख ७९ हजार ६२९ रुपैयाँ ८१ पैसा रहेको देखिएको छ भने खातामा १३ लाख ८२ हजार २० रुपैयाँ ४० पैसा मौज्दात रहेको पाइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार सोही खाताबाट पछिल्ला तीन महिनामा मात्रै ३८ लाख ९५ हजार १८० रुपैयाँ बराबरको कारोबार भएको खुलेको छ।

त्यसैगरी, श्रेष्ठको साथबाट बरामद अर्को एप्पल (Apple)  कम्पनीको मोबाइल परीक्षण गर्दा त्यसमा रहेको Binance एपमा ३३ हजार १५० दशमलव ३३ अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी रहेको फेला परेको प्रहरीले जनाएको छ। उक्त रकमको हालको विनिमय दरअनुसार नेपाली रुपैयाँमा करिब ५० लाख ९८ हजार १८९ रुपैयाँ २५ पैसा बराबर हुने प्रहरीको अनुमान छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवका अनुसार श्रेष्ठमाथि अभौतिक मुद्रा ९क्रिप्टोकरेन्सी० सञ्चय तथा कारोबार र अनलाइन सट्टेबाजीसम्बन्धी कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको छ।

नेपाल राष्ट्र बैंक ऐन तथा प्रचलित कानुनअनुसार नेपालमा क्रिप्टोकरेन्सीको खरिद–बिक्री, लगानी तथा अनलाइन सट्टेबाजीसम्बन्धी कारोबार गैरकानुनी मानिन्छ।

प्रहरीले सर्वसाधारणलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन आग्रह गर्दै क्रिप्टोकरेन्सी वा अनलाइन बेटिङसम्बन्धी गैरकानुनी कारोबारको सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।


सम्बन्धित समाचार
भर्खरै