Logo

३ असार, काठमाडौँ । रुसले युक्रेनको राजधानी किभलाई केन्द्रित गरी ब्यालिस्टिक क्षेप्यास्त्रहरूको शृङ्खलाबद्ध र भीषण आक्रमण गरेको छ ।

रुस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमण मानिएको यस घटनामा परी हालसम्म एक जनाको मृत्यु हुनुका साथै कम्तीमा १४ जना घाइते भएका छन् । शनिबार रातभर चलेको यस आक्रमणमा आवासीय क्षेत्र, सुपरमार्केट र छात्रावाससहित विभिन्न भवनहरूमा ठूलो क्षति पुगेको छ ।

किभका मेयर भिताली क्लिच्कोका अनुसार आक्रमणपछि लागेको आगो निभाउन र भग्नावशेषमा फसेकाहरूको उद्धार गर्न दमकलकर्मी तथा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।

युक्रेनी वायुसेनाका अनुसार रुसले पछिल्लो पटक इस्कान्देर र हाइपरसोनिक जिर्कोन क्षेप्यास्त्रसहित १२५ वटा ड्रोनको प्रयोग गरेको थियो । युक्रेनी सेनाले प्रहार गरिएका ४१ वटा क्षेप्यास्त्रमध्ये १८ वटालाई आकाशमै खसाल्न र १०८ वटा ड्रोनलाई निस्तेज पार्न सफल भएको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको यो कदमलाई ‘किभमाथिको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमण’ भन्दै निन्दा गरेका छन् ।

उनले गत एक सातामा मात्रै रुसले करिब १४ सय ५० ड्रोन, १६ सयभन्दा बढी निर्देशित बम र ९९ वटा विभिन्न प्रकारका क्षेप्यास्त्र युक्रेनमाथि प्रहार गरिसकेको जानकारी दिएका छन् ।

रुसको यो पछिल्लो आक्रामक कारबाहीलाई युक्रेनले गरेको ड्रोन आक्रमणको जवाफी कारबाहीका रूपमा हेरिएको छ । युक्रेनले रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी ‘वाइल्डबेरीज’का दुईवटा गोदाममा ड्रोन आक्रमण गरेपछि रुसले किभमाथिको यस आक्रमणलाई तीव्र पारेको हो । दुवै देशबीच बढ्दो यो द्वन्द्वका कारण युक्रेनमा मानवीय क्षति र भौतिक पूर्वाधारको विनाशले गम्भीर रूप लिइरहेको छ ।


सम्बन्धित समाचार