३ साउन, काठमाडौँ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान ९डीडीसी० ले दूध सङ्कलन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्ने उद्देश्यले नयाँ नीति लागू गरेको छ ।
संस्थानले चालु आर्थिक वर्ष २०८३÷८४ देखि लागू हुने गरी दूध आपूर्ति गर्ने देशभरका दुग्ध उत्पादक सहकारी संस्था तथा निजी फार्महरूलाई साउन मसान्तभित्र अनिवार्य रूपमा सम्पर्क र नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ । डीडीसीले सङ्कलन प्रणालीलाई प्रविधिमैत्री, अनुमानयोग्य र दिगो बनाउने भन्दै यसका लागि ‘डेडलाइन’ तोकेको हो ।
संस्थानको केन्द्रीय कार्यालय लैनचौरले जारी गरेको सूचनामा तोकिएको समयसीमाभित्र सम्पर्कमा नआउने सहकारी तथा निजी फार्महरूसँग दूध कारोबार गर्न संस्थान बाध्य नहुने स्पष्ट पारिएको छ ।
यसको अर्थ साउन मसान्तपछि नवीकरण नगर्नेहरूको दूध खरिद प्रक्रिया डीडीसीले रोक्न सक्ने देखिन्छ। आफ्नो कारोबारलाई निरन्तरता दिन चाहने उत्पादकहरूले सम्बन्धित जिल्लाका आयोजना कार्यालय वा नजिकैको चिस्यान केन्द्र ९चिलिङ सेन्टर० मा गई आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।
पछिल्लो समय डीडीसीका विभिन्न प्रशासनिक र गुणस्तरीयताका विषयहरू चर्चामा रहँदै आएका बेला संस्थानले सङ्कलन प्रणाली सुधारका लागि चालेको यो कदमलाई महत्त्वपूर्ण मानिएको छ ।
५७ वर्षदेखि दुग्ध क्षेत्रमा क्रियाशील डीडीसीले आफ्ना सेवाहरूलाई थप चुस्त र पारदर्शी बनाउन यस्तो व्यवस्था गरेको जनाएको छ । सहकारी र निजी फार्महरूले समयमै प्रक्रिया पूरा नगरेको खण्डमा उनीहरूको दूध आपूर्ति बन्द हुनसक्ने भन्दै डीडीसीले सरोकारवालाहरूलाई सचेत गराएको छ ।




















