३ साउन, चितवन । वैदेशिक रोजगारीका नाममा करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेका गोल्डेन फिडरका सञ्चालक मध्येका एक सुरेश परियार अन्ततः पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले शनिबार परियारलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
उनी लगायत नर बहादुर र जोसेफ विरुद्ध विगत करिब एक वर्षदेखि चितवन लगायत विभिन्न जिल्लामा वैदेशिक रोजगार ठगी, संगठित अपराध, बैकिङ कसूर तथा मानव तस्करीसम्बन्धी उजुरी परिरहेका थिए।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० चन्द्रभूषण यादवका अनुसार परियारमाथि हाल बैंकिङ कसुरसम्बन्धी अनुसन्धान भइरहेको छ। घटनाका अन्य पक्षबारे पनि अनुसन्धान जारी रहेको उनले बताए।
परियारसँगै नवराज भनिने नरबहादुर क्षेत्री र भारतीय नागरिक जिम्जो जोसेफ विरुद्ध पनि नेपाली युवालाई युरोप पठाइदिने प्रलोभन देखाएर ठूलो रकम असुलेको आरोपमा विभिन्न जिल्लाबाट उजुरी परेको थियो। पीडितका अनुसार उक्त समूहले भारतीय दलालहरूको सहयोगमा युवालाई भारत हुँदै श्लोभाकिया पुर्याउने, त्यसपछि रोजगारी, कागजात र कानुनी संरक्षणबिना अलपत्र पार्ने काम गरेको थियो।
पीडित परिवारका अनुसार उनीहरूले १५ लाख देखि १७ लाख रुपैयाँसम्म रकम बुझाएका थिए। तर युरोप पुगेपछि काम, तलब र बसोबासको व्यवस्था नहुँदा धेरै नेपाली चरम समस्यामा परेका छन्। हाल पनि ४२ जना नेपाली श्लोभाकियामा अलपत्र रहेको पीडितहरूका परिवारले बताएका छन् ।
पीडित परिवारका अनुसार सुरेश परियार, नरबहादुर क्षेत्री र जिम्जो जोसेफविरुद्ध करिब एक वर्षअघि नै जिल्ला प्रहरी कार्यालय, वैदेशिक रोजगार विभाग तथा अन्य सम्बन्धित निकायमा उजुरी दर्ता गरिएको थियो। तर प्रहरीले वैदेशिक रोजगार ठगी र मानव तस्करीसम्बन्धी उजुरीमा प्रभावकारी अनुसन्धान नगरी अहिले बैंकिङ कसुरमा मात्र मुद्दा अघि बढाएको उनीहरूको आरोप छ।
दाङका पीडित आदर्श केसीले यो प्रकरणलाई सामान्य आर्थिक विवादका रूपमा हेर्न नमिल्ने बताए। उनले भने, “सयौँ युवासँग करोडौँ रुपैयाँ उठाएर युरोप पठाउने नाममा बीच बाटोमै अलपत्र पारिएको छ। यो बैंकिङ कसुरको मात्रै विषय होइन, मानव तस्करी र संगठित वैदेशिक रोजगार ठगीको गम्भीर अपराध हो। प्रहरीले मानव तस्करीसम्बन्धी उजुरीमाथि प्रभावकारी अनुसन्धान नगरी मुख्य अभियुक्तहरूलाई जोगाउने प्रयास गरेको जस्तो देखिएको छ।”
केसीले सुरेश परियार, नरबहादुर क्षेत्री, जिम्जो जोसेफलगायत संलग्न सबै व्यक्तिमाथि मानव तस्करी, वैदेशिक रोजगार ठगी र संगठित अपराध अन्तर्गत समेत अनुसन्धान गरी कारबाही गर्न माग गरे।
पीडितको माग– सबै अभियुक्तमाथि समान अनुसन्धान होस्
पीडित परिवारले सुरेश परियार पक्राउ परे पनि यो प्रकरणका अन्य आरोपित अझै कानुनी दायराबाहिर रहेको भन्दै उनीहरूमाथि पनि तत्काल अनुसन्धान अघि बढाउन माग गरेका छन्।
उनीहरूको भनाइमा, यो घटनाले केवल आर्थिक ठगी मात्र नभई नेपाली युवालाई अवैध बाटो प्रयोग गरी विदेश पुर्याएर जोखिमपूर्ण अवस्थामा छाड्ने कार्य भएकाले मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, वैदेशिक रोजगार ऐन र संगठित अपराधसम्बन्धी कानुनअन्तर्गत पनि अनुसन्धान हुनुपर्छ।
पीडितहरूले विदेशमा अलपत्र परेका नेपालीको उद्धार, ठगी भएको रकम फिर्ता र घटनामा संलग्न सबै व्यक्तिलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
यद्यपि, प्रहरीले हाल सार्वजनिक रूपमा सुरेश परियारमाथि बैंकिङ कसुरसम्बन्धी अनुसन्धान भइरहेको पुष्टि गरेको छ। वैदेशिक रोजगार ठगी र मानव तस्करीसम्बन्धी उजुरीको अनुसन्धान कुन चरणमा पुगेको छ भन्ने विषयमा भने सम्बन्धित निकायबाट औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।




















