Logo

सामाजिक सुरक्षा भत्ता नवीकरणको समयसीमा तोकियोस् असोजभित्र परिचयपत्र अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

३ असार, काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा भत्ता लिने सम्पूर्ण लाभग्राहीका लागि परिचयपत्र नवीकरण गर्न अनिवार्य सूचना जारी गरेको छ ।

सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ बमोजिम आगामी असोज मसान्तभित्र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबैले आफ्नो परिचयपत्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था गरिएको हो । यो प्रक्रिया पूरा गर्न लाभग्राहीहरू स्वयं सम्बन्धित वडा कार्यालयमा उपस्थित भई जैविक पहिचान ९बायोमेट्रिक० गराउनुपर्ने मन्त्रालयले जनाएको छ ।

सहज सेवा प्रवाहका लागि अस्थायी रूपमा बसोबास गरिरहेका लाभग्राहीहरूले आफू बसेकै स्थानको नजिकको वडा कार्यालयबाट पनि यो प्रक्रिया पूरा गर्न सक्ने सुविधा दिइएको छ। सामान्यतया नवीकरण गर्दा राष्ट्रिय परिचय नम्बरका आधारमा जैविक पहिचान अनिवार्य गरिएको भए पनि केही वर्गलाई भने छुट दिइएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा ५ अनुसार १६ वर्ष उमेर पूरा नभएका बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त व्यक्ति र ९० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि राष्ट्रिय परिचय नम्बरको बाध्यता हटाइएको छ ।

मन्त्रालयले वडा कार्यालयहरूमा सेवाग्राहीको अत्यधिक भिडभाड हुन नदिन र नवीकरण कार्यलाई व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय तहहरूलाई आग्रह गरेको छ । तोकिएको समयसीमाभित्र नवीकरण नभएमा भत्ता प्राप्तिमा कठिनाइ हुन सक्ने भन्दै मन्त्रालयले सम्पूर्ण योग्य लाभग्राहीहरूलाई समयमै सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।


सम्बन्धित समाचार