४ साउन, काठमाडौँ । देशभर जारी अविरल वर्षाका कारण ठाउँ-ठाउँमा खसेको पहिरो र बाढीले देशका प्रमुख सडक सञ्जाल अस्तव्यस्त बनेका छन्। नेपाल प्रहरी तथा सडक विभागको साउन ४ गते बिहान ६:१० बजेसम्मको अद्यावधिक विवरण अनुसार विशेष गरी कोशी र बागमती प्रदेश जोड्ने प्रमुख राजमार्गहरू ठप्प बनेका हुन्।
सडक माथिबाट खसेको ठुलो पहिरो र नदीको बहाव बढेका कारण बिपी राजमार्ग, अरनिको राजमार्ग, सिद्धिचरण लोकमार्ग र कान्तिलोकपथ लगायतका महत्त्वपूर्ण सडक खण्डहरूमा यातायात पूर्ण रूपमा ठप्प भएको छ।
बागमती प्रदेशका अधिकांश सडक खण्डहरू बाढी र पहिरोको उच्च मारमा परेका छन्। काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा गएको ठुलो पहिरोका कारण बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, हेटौँडालाई काठमाडौँसँग जोड्ने वैकल्पिक सडक कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–थिङ्गन–बागमती–ललितपुर खण्डमा सम्भावित जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि सवारी सञ्चालन पूर्ण रूपमा बन्द गरिएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नम्बर २ कोदारीमा खसेको पहिरोले अरनिको राजमार्ग ठप्प बनाएको छ। चितवनको इच्छाकामना–३ फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
धादिङको बेनीघाट रोराङ–१० तिमराङखानीमा खसेको पहिरो पन्छाएर पृथ्वी राजमार्ग एकतर्फी खुलाइए तापनि सोही खण्डको जोवाङ खोलामा पुनः पहिरो गएपछि सडक पुनः पूर्ण अवरुद्ध बनेको छ। रसुवाको गोसाइँकुण्ड–६ बोकेझुन्डामा खसेको पहिरो पन्छाएर पासाङ ल्हामु राजमार्ग भने हाल एकतर्फी सञ्चालनमा ल्याइएको छ।
कोशी प्रदेशमा पनि वर्षाका कारण पहाडी तथा हिमाली जिल्ला जोड्ने सडकहरू नराम्ररी प्रभावित भएका छन्। इलामको राजदुवालीस्थित मेची राजमार्ग, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–६ माम्खास्थित मध्यपहाडी लोकमार्ग र उदयपुरको कटारी–११ हर्देनीस्थित सिद्धिचरण लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
यसै गरी भोजपुर नगरपालिका–५ बोखिममा आएको बाढीका कारण मध्यपहाडी लोकमार्गमा हाल एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।
अवरुद्ध सडक खण्डहरूमा डोजर तथा एक्साभेटर परिचालन गरी पहिरो पन्छाउने र सडक खुलाउने प्रयास भइरहेको भए पनि निरन्तरको वर्षाका कारण उद्धार तथा मर्मत कार्यमा बाधा पुगेको छ । प्रहरीले अत्यावश्यक कामबाहेक जोखिमपूर्ण सडकखण्डमा यात्रा नगर्न र यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई अपिल गरेको छ।




















