Logo

४ साउन, काठमाडौँ । सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने साउन महिनाको पहिलो सोमबार आज मुलुकभर विशेष श्रद्धा, भक्ति र हर्षोल्लासका साथ मनाइँदै छ । वैदिक कालदेखि नै साउन महिनाको सोमबार भगवान् शिवको व्रत बस्ने, पूजा-आराधना गर्ने, जप, तप र दान-पुण्य गर्ने विशिष्ट परम्परा रहिआएको छ । यस महिनाको सोमबार निष्ठापूर्वक व्रत बस्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि छाउने शास्त्रीय विश्वास छ।

आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ, डोलेश्वर महादेव, खोटाङको हलेसी महादेव, किराँतेश्वर, रसुवाको गोसाइँकुण्ड लगायत देशभरका साना-ठुला शिवालयहरूमा स्नान गरी जल, बेलपत्र, धतुरो र फूल अर्पण गर्ने भक्तजनहरूको उल्लेख्य घुइँचो लागेको छ ।

पौराणिक मान्यताअनुसार साउन महिना भगवान् शिवको अत्यन्त प्रिय महिना हो, जसको सम्बन्ध प्रसिद्ध समुद्रमन्थनको कथासँग जोडिएको छ। पुराणहरूका अनुसार देवता र दानवहरू मिलेर अमृत प्राप्तिका लागि समुद्रमन्थन गर्दा सबैभन्दा पहिले ब्रह्माण्ड नै नष्ट गर्न सक्ने ‘कालकूट’ (हालाहल) नामक भयानक विष निस्किएको थियो।

उक्त विषको तीव्र ताप र प्रभावबाट सम्पूर्ण सृष्टिलाई जोगाउन लोक कल्याणका लागि भगवान् शिवले सो विष आफैँ ग्रहण गरेका थिए। शिवले विष सेवन गरेको समय साउन महिना भएको र विषको जलन शान्त पार्न देवताहरूले उनीमाथि निरन्तर जल अर्पण गरेका थिए। सोही ऐतिहासिक एवं धार्मिक घटनाको स्मरण गर्दै साउन महिनाभर, विशेष गरी सोमबारका दिन शिवलिङ्गमा जलाभिषेक गर्ने परम्परा विकसित भएको हो। शिवपुराण, स्कन्दपुराण, लिङ्गपुराण र पद्मपुराण जस्ता ग्रन्थहरूमा शिव पूजाको विस्तृत महिमा वर्णन गरिएको छ, जसमा लिङ्गपुराणले जल, दूध, दही, घ्यू, मह र चिनीद्वारा गरिने पञ्चामृत अभिषेकको विशेष महत्त्व औंल्याएको छ।

सोमबारको शाब्दिक अर्थ संस्कृतमा ‘चन्द्रमा’ सँग जोडिन्छ। भगवान् शिवले चन्द्रमालाई आफ्नो जटामा धारण गरेका हुनाले उनलाई ‘चन्द्रशेखर’ पनि भनिन्छ। ज्योतिष शास्त्रअनुसार चन्द्रमालाई मन, जल, भावना र मानसिक सन्तुलनको कारक ग्रह मानिन्छ। चन्द्रमाका अधिष्ठाता देवता भगवान् शिव भएकाले साउनको सोमबार शिवको आराधना गर्दा कुण्डलीमा चन्द्रमा बलियो हुने र यसले मानसिक तनाव कम गरी आत्मविश्वास र सकारात्मक ऊर्जा बढाउने ज्योतिषीय विश्लेषण छ।

विशेष गरी डिप्रेसन, फोक्सो वा दमको समस्या भएका बिरामीहरूका लागि साउनको व्रत र शिव साधना स्वास्थ्यका दृष्टिले लाभदायक हुने विश्वास गरिन्छ। यसका साथै चन्द्रमालाई वित्तीय क्षेत्र, सेयर बजार, जग्गाजमिन र आमाको समेत कारक ग्रह मानिने हुनाले यस दिनको पूजाले आर्थिक सम्पन्नता आउने, स्थिर सम्पत्ति थपिने र आमासँगको सम्बन्ध सुमधुर हुने जनविश्वास छ।

यस वर्ष असार ३२ गतेदेखि गुरु (बृहस्पति) देव अस्त भए तापनि नित्य र नैमित्तिक कर्महरूका लागि कुनै बाधा नरहेको शास्त्रविद्हरूको भनाइ छ। स्नान, सन्ध्या, पाञ्चायन पूजा, श्राद्ध, तर्पणसहित साउन ९ गते पर्ने हरिशयनी एकादशी (तुलसी रोप्ने दिन) र चातुर्मास व्रत सुरु गर्न शास्त्रीय रूपमा पूर्ण रूपमा खुला रहेको छ।

प्राचीन समयमा ऋषि-मुनीहरूले वर्षायाममा एकै स्थानमा बसेर तप, जप र शिव साधना गर्ने चातुर्मास परम्पराबाट यो व्रत क्रमशः विकसित भएको मानिन्छ। कालान्तरमा यसले व्यापक सांस्कृतिक रूप लियो। हिन्दु समाजमा साउनको सोमबार सनातन महिलाहरूले मात्र नभई पछिल्लो समय पुरुष, युवायुवती र वृद्धवृद्धाले समेत उत्तिकै उत्साहका साथ अवलम्बन गर्न थालेका छन्। हालका वर्षहरूमा हरियो पहिरन, हरियो चुरा र मेहेन्दी लगाएर व्रत बस्ने संस्कृति युवा पुस्तामाझ फेसन र परम्पराको सुन्दर सङ्गमका रूपमा लोकप्रिय बनेको छ।

साउन सोमबार व्रतको मुख्य दर्शन भगवान् शिवप्रति आत्मसमर्पण गर्नु र आफूभित्र आत्मसंयम, अनुशासन एवं सहनशीलताको विकास गर्नु हो। यस दिन सत्य बोल्ने, क्रोध त्याग्ने, सात्त्विक भोजन गर्ने, जीव हिंसा नगर्ने र दान गर्ने अभ्यासलाई जोड दिइन्छ । अविवाहित युवतीहरूले योग्य जीवनसाथी प्राप्तिको कामना र विवाहित महिलाहरूले पतिको दीर्घायु एवं परिवारको कल्याणका लागि यो कठोर तर पवित्र व्रत बस्ने गर्दछन् ।


सम्बन्धित समाचार
भर्खरै