४ साउन, काठमाडौँ । लामो समयदेखि रासायनिक मलको पर्खाइमा रहेका नेपाली किसानहरूका लागि राहत मिल्ने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार ‘ग्लोबल टेन्डर’ (विश्वव्यापी बोलपत्र) मार्फत खरिद गरिएको रासायनिक मलको पहिलो लटअन्तर्गत १ हजार २५० मेट्रिकटन डीएपी मल आज सोमबार नेपाल आइपुग्दै छ।
मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय बजारबाट खरिद गरिएको कुल ३० हजार मेट्रिकटन डीएपी मलमध्ये साउन १ गते नेपालतर्फ ढुवानी सुरु गरिएको पहिलो खेप आज सीमा नाका आइपुग्न लागेको हो।
नेपाल सरकारले बोलपत्रमार्फत आयात गरेको कुल ३० हजार मेट्रिकटन डीएपी मल गत जुलाई १० (असार २६ गते) मा भारतको कोलकाता बन्दरगाहमा आइपुगेको थियो। बन्दरगाहमा आइपुगेको सोही मलमध्ये पहिलो चरणको १२ सय ५० मेट्रिकटन मललाई तत्कालै लोड गरी नेपालतर्फ पठाइएको थियो।
बाँकी रहेको २८ हजार ७५० मेट्रिकटन मल भने हाल कोलकाता बन्दरगाहमै राखेर द्रुत गतिमा प्याकेजिङ (ब्यागिङ) गर्ने कार्य भइरहेको कृषि, वन तथा पर्यावरण मन्त्रीको सचिवालयले जनाएको छ। बन्दरगाहमा प्याकेजिङको काम सम्पन्न हुनासाथ बाँकी मललाई पनि क्रमशः रेल तथा ट्रकहरूमा लोड गरी नेपाल भित्र्याइने सचिवालयले प्रष्ट पारेको छ।
नेपाल भित्रने डीएपी मलको भण्डारण, ढुवानी तथा जिल्ला-जिल्लामा वितरण गर्ने सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडले सम्हाल्दै आएको छ।
धान बाली लगाउने मुख्य सिजन र साउनको सुरुवातमा मल भित्रन लागेकाले यस वर्ष विगत जस्तो मलको हाहाकार नहुने मन्त्रालयको दाबी छ। नेपाल भित्रिएको मललाई कृषि सामग्री कम्पनीको प्रादेशिक तथा जिल्ला डिपोहरूमा पठाई सहकारीमार्फत प्रादेशिक आवश्यकताका आधारमा किसानहरूलाई तुरुन्तै वितरण गर्ने योजना बनाइएको छ।




















