Logo

१ कार्तिक, ठोरी पर्सा ।
गाउँमा लगातार हात्तीले दुख दिन थालेपछि सिकारीबासका स्कुले विद्यार्थीहरु गाउँ नै छोडेर डेरामा बस्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जको घना जङ्गलभित्र अवस्थित पर्साको ठोरी गाउँपालिका वडा नम्वर ३ मा पर्ने सिकारीबासका विद्यार्थीहरुले हात्तीकै कारण घर छोड्न बाध्य भएका हुन् ।

पर्सा जिल्लाकै विकट मानिने सिकारीवासमा कक्षा –५ सम्म पढाई हुने आधारभूत तहको एउटामात्र विद्यालय छ । कक्षा ५ सम्म अध्ययन पुरा गरेपछि यहाँका विद्यार्थीहरु थप शिक्षाका लागि दैनिक चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको घना जङ्गल छिचोलेर ठोरी गाउँपालिका कार्यालय अगाडि रहेको निर्मलवस्ती स्थित घ्याङ्डाँडा पढ्न जानुपर्ने बाध्यता छ ।

केही वर्ष अघिसम्म यहाँका विद्यार्थीहरु ठोरी गाउँपालिकाको वडा नंं ३ मा नै पर्ने नेपाल राष्ट्रिय माध्यामिक विद्यालय ओडार पढ्न जाने गरेकोमा जङ्गल घना हुदै गएको र जनावरको समेत डर हुन थालेपछि ठोरी –४ को निर्मलवस्ती र घ्याङ्डाडामा जान थालेका हुन् । जङ्गलकै बाटो ओहोरदोहोर गर्नुपर्ने भएपनि ओडार जाने बाटोको तुलनामा गाईवस्तु चराउन गोठाला जाने र सरसामान किन्न आउने गाउँका स्थानीयको चहलपहलका कारण विद्यार्थीहरु ठोरी –४ मा रहेका विद्यालयमा जान थालेका हुन् ।

उता तुलनात्मक रुपमा जङ्गल पार गर्ने वित्तिकै आउने र अन्य विद्यालय भन्दा केही नजिकमा पर्ने निर्मलवस्तीमा रहेका नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ८ सम्म मात्र अध्ययन हुने भएकाले माध्यमिक तह अध्ययन गर्न निर्म्लवस्तीबाट पनि थप ४ किलोमिटर टाढा ज्ञानज्योति माध्यामिक विद्यालय घ्याङ्डाडा जानुपर्ने बाध्यता उनीहरुलाई छ । ती दुबै विद्यालय अध्ययन गर्न सिकारीबासका विद्यार्थीले हरेक दिन करीब ७ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्जको घना जङ्गल छिचोल्नुपर्ने बाध्यता रहेको घ्याङ्डाडामा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी अजय थारुले सुनाए ।

उनले बितेको एक महिना यता लगातार धानबाली खानका लागि हात्ती वस्तीमा आउने क्रम नरोकिएकाले हात्तीकै डरको कारण गाउँ छोडेर डेरामा बस्नुपरेको बताए । ’स्कुल पढ्न जाँदा र फर्किदा बाटोमा नै कतिबेला हात्तीले आक्रमण गर्ने हो भन्ने डर छ ।’ थारुले भने ’अब धान नकाटुन्जेल सम्मका लागि भएपनि स्कुल नजिकै डेरा लिएर बसेका छौं ।’ कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने करीब २० जना विद्यार्थीहरु अहिले विद्यालय नजिकै निर्मलवस्तीमा डेरा लिएर बसेका छन् ।

धानबाली काट्ने बेला भएपछि गाउँ नजिकै हात्ती बस्ने र जतिबेला पनि आक्रमण गर्ने डरले गर्दा अभिभावकहरुले नै घर ओहोरदोहोर गर्न नदिएको कक्षा १० मा अध्ययन गर्ने अर्का विद्यार्थी राकेश चौधरीले बताए । ’अब हात्तीको आतङ्क नहटेसम्म डेरामा बस्ने र पछि गाउँबाट नै स्कुल आवतजावत गर्ने विचारमा छौं, चौधरीले बताए ।

बाटोमा हात्तीसंग जम्काभेट भैहाल्यो भनेपनि आफुहरुमा भाग्न सक्ने हिम्मत भएपनि भाईबहिनीहरु भाग्न नसक्ने भएकोले जोखिम भएको उनको भनाइ छ । डेरामा बस्ने अधिकांश विद्यार्थीले डेरा भाडामा नै लिएका छन् भने कतिपय भने चिनजानकै व्यक्तिको घरमा बस्दै आइरहेका छन् । सिकारीबासमा बितेको महिनादिन यता लगातार रात परेपछि धानबालीमा हात्तीले दुःख दिदै आइरहेको छ ।


सम्बन्धित समाचार