Logo

१९ माघ, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयारीलाई तीव्र बनाएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ । आयोगका अनुसार कूल २५ जिल्लाका लागि आवश्यक मतपत्र छपाइ सकिएको छ भने बाँकी जिल्लाको छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा नियमित रूपमा जारी छ।

आयोगले यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिसकेको छ। साथै, मतदाता शिक्षाका लागि प्रयोग हुने १० लाख ९८ हजार २०० थान नमूना मतपत्र पनि छपाइ भइसकेको छ ।

निर्वाचनको स्वच्छता र मतदाताको सूचनामा पहुँच बढाउने उद्देश्यले आयोगले मतदाता शिक्षा अभियानलाई पनि तीव्र पारेको छ। निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री स्वीकृत गराई सार्वजनिक गरेको आयोगले जनाएको छ। ती सामग्री आयोगका आधिकारिक फेसबुक, एक्स (ट्विटर), टिकटक र युट्युबमार्फत प्रसारण भइरहेका छन् ।

आयोगका अनुसार यस्ता सामग्रीले मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई आधिकारिक र विश्वासनीय जानकारी उपलब्ध गराउँदै मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

यसैबीच प्रतिनिधिसभा निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले निर्वाचन आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुख तथा प्रतिनिधिलाई ब्रिफिङ गरेको छ । कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा निर्वाचनको समग्र वातावरण, आयोगले गरेका तयारी, साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षणसम्बन्धी विषयमा जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

निर्वाचन मिति नजिकिँदै जाँदा आयोगले मतपत्र छपाइ, मतदाता शिक्षा र अन्तर्राष्ट्रिय विश्वास कायम गर्ने कामलाई एकसाथ अघि बढाएको देखिन्छ ।


सम्बन्धित समाचार
भर्खरै