Logo

छठ पुजाको लागि सजाइएको वीरगञ्ज स्थित घडिअर्वा पोखरी

 

छठ पर्वको आज दोस्रो दिन, खरना गरी मनाइँदै छ । छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । यस दिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ ।

शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधिलाई पूरा गरेका व्रतालुले कार्तिक शुक्ल पञ्चमीका दिन शनिबार दिउँसो निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसाद स्वरुप खानेछन् । साँझमा माटोले बनाइएको नयाँ चुल्होमा नयाँ माटोको भाँडामा अरबा चामलको खिर बनाउने गरिन्छ ।

सख्खर हालेर बनाइएको खिर देवीदेवतालाई प्रसादका रुपमा चढाइन्छ र उक्त प्रसादस्वरुप खिर वर्तालुका साथै घरका अन्य सदस्यले ग्रहण गर्दछन् । कात्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिला डुब्दै गरेको सूर्यलाई अर्घ्य दिन्छन् ।

साँझका समयमा घण्टौंसम्म जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका प्रसाद लिएर डुब्दै गरेको सूर्यलाई अर्घ्य चढाउने गरिन्छ । उक्त दिन छठ व्रत गर्नेको घरका सबै सदस्य प्रायःरातभर पोखरीको घाटमा जाग्राम बस्ने गर्दछन् । छठको प्रसादमा ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिँगार, फलफूल, पान, सुपारी, धूप, दीप आदि रहन्छ ।

यसवर्ष तिथिको घटबढले शुक्रबार तृतीया र चौथी दुवै परेको थियो। पर्वको प्रारम्भमा व्रतालुले शुक्रबार ‘नहाय–खाय’ विधि पूरा गरे । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल तृतीयाकै दिन शुक्रबार नै व्रतालुले ‘अरबा–अरबाइन’ गरे ।

षष्ठी तिथिका दिन आइतबार निराहार व्रत बसेर साँझपख सजिसजाउ गरिएका घाट बनाइएको जलाशयमा पुगेर शरीरको कम्मरसम्मको भागलाई पानीमा डुबाएर ‘अस्ताउँदो सूर्य’लाई अर्घ दिने गरिन्छ । यसलाई ‘सँझियाघाट’ भनिन्छ । यसको भोलिपल्ट सप्‍तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।

छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ । छठ पर्वको व्रतलाई कठिन व्रतको रुपमा पनि लिइन्छ । सन्तान प्राप्ति, पति सुख, शान्ति तथा कुष्ठजस्ता असाध्य रोग निवारणका लागि छठ पूजाको आयोजना गरिन्छ

छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । देवी भागवतमा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ ।

वीरगञ्जको घडिअर्वा, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटस्थित नदी किनार तथा पोखरी सजाउने काम भइरहेको छ । सहरी क्षेत्रमा मात्रै छठघाट सजाउने गरिएकोमा पछिल्लो समयमा ग्रामिण क्षेत्रका छठघाटमा पनि सजावट गरिएको छ ।

शुरुका दिनमा नेपालको तराई मधेशमा मात्र मनाउने गरेको छठ पर्व अहिले काठमाडौ लगायत पाहाडी क्षेत्रमा पनि धुमघामका साथ मनाउन थालिएको छ । छठीमाइको ब्रत र पुजा गरे मनोकांक्षा पुरा हुने जनविश्वासका कारण यसको लोकप्रियया बढदै गएको हो ।

 


सम्बन्धित समाचार