Logo

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा बारा जिल्लामा सत्ता गठबन्धनका उमेदवार, एमाले–जसपा गठबन्धन र स्वतन्त्र उमेदवारहरु चुनावी प्रचारकालागि जनताका घरदैलोमा पुगेका छन् । जनताको विचमा विकास निर्माण लगायत शिक्षा, स्वास्थ्य र बेरोजगार युवाहरुलाई रोजगार दिने आश्वासन उमेदवारहरुले बाडदै हिडेका छन् । सबै उमेदवारले उठाउने बिषय उस्तै छन् कसलाई भोट दिने जनता भने राजनीति पार्टीको झण्डा भन्दापनि जनताको पक्षमा काम गर्न सक्ने र जनताको विचमा रहेर काम गर्ने नेता को हुन सक्छ ? उसलाई भोट दिने पक्षमा देखिन्छन् । दलिय भोटको आधार भन्दापनि उमेदवारको छवि र पहिचानलाई मतदाताले छनौट गर्न सक्ने आकलन गरिएको छ ।

मैदानमा उमेदवारको स्थिती के छ ?

बाराको क्षेत्र नं. १ मा नेपाली कांग्रेस नेता तथा वहालवाला मन्त्री उमाकान्त चौधरी र एमालेका पोलिटव्यूरो सदस्य अच्यूत प्रसाद मैनाली विच प्रतिस्पर्धा छ । नेपाली कांग्रेसको बलियो क्षेत्रको रुपमा रहेको यस क्षेत्रमा मन्त्री उमाकान्त चौधरी प्रति कांगे्रसका कार्यकर्ताको गुनासो रहेको देखिन्छ ।

मन्त्री भएपछि कार्यकर्ताको मनोभावना बुझ्न नसकेको, पार्टी भित्रको आन्तरिक द्धन्दमा एकपक्षलाई बोक्ने गरेको र जातियताको आधारमा कार्यकर्तालाई भेदभाव गरेको आरोप उमाकान्त माथि लाग्ने गरेको छ । चौधरी समुदायको बाहुल्यता भएको यस क्षेत्रमा दक्षिण तर्फ सिम्रौनगढ क्षेत्रका नेता बिजय शंकर यादव र उत्तरी क्षेत्रमा शम्भु बढाथोकीको साथ नपाउने अवस्थामा उमाकान्त चौधरीलाई अप्ठारो स्थितीको सामना गर्नुपर्ने आकलन गरिएको छ ।

नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष समेत रहेका पत्रकार गुरु गौतमले नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद समाधान भएकोले उमाकान्त चौधरीले जित्ने स्थिती बन्दै गएको बताउछन् । जनमतको स्थिती हेर्ने हो भने पनि नेपाली कांग्रेस, लोसपा, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको मत एमाले–जसपा गठबन्धनको भन्दा धेरै भएकोले उमाकान्तको अबस्था राम्रो देखिदै आएको भनाइ गौतमको छ ।

तत्कालिन नेकपाको सरकारमा केपी ओली प्रधानमन्त्री हुदाँ सचिवालयमा बसेर काम गरेका नेकपा एमालेका नेता अच्यूत मैनाली पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् । उनी जनताको घरदैलोमा पुग्ने नेता मध्येका एकमा पर्छन । बारा जिल्लामा राम्रो जनसम्र्पक भएका नेता रुपमा उनलाई लिइन्छ । एमाले विभाजनको असर यो क्षेत्रमा देखिएको र दक्षिण क्षेत्रको जसपाको भोट उनको पक्षमा जादैन भन्ने आकलन गरिदै छ । उमाकान्तसँगको प्रतिस्पर्धामा रहेका मैनालीले दक्षिण क्षेत्रको भोट आफ्नो पक्षमा पार्न सकेमा मात्र सत्ता गठबन्धनका उमेदवारसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुग्ने स्थानीय बुद्धिजिवीहरुको भनाई रहेको छ ।

२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार उमाकान्त चौधरीले २४ हजार ४ सय ५० मत प्राप्त गरि विजयी भएका थिए । उनका निकटत्म प्रतिद्धन्दी बाम गठबन्धनका उमेदवार अच्यूत मैनालीले २२ हजार ३० मत प्राप्त गरेका थिए । मधेसवादी गठबन्धनका उमेदवार राजपाका रामकिशोर प्रसाद यादवले २० हजार एकसय ४४ मत प्राप्त गरेका थिए । यो क्षेत्रमा यसपटक पनि अघिल्लो पटक प्रतिस्पर्धा गरेका चौधरी र मैनाल विच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रतिनिधि सभा तर्फ बाराको क्षेत्र नं. २ मा जसपाका रामसाय प्रसाद यादव, माओवादी केन्द्रका शिवचन्द्र प्रसाद कुशवाहा, जसपाबाट बिद्रोह गरेर स्वतन्त्र उमेदवार बनेका रामकिशोर यादव, नेपाली कांग्रेसबाट विद्रोहगरी स्वतन्त्र उठेका रबिन्द्र यादव र अरुण ज्ञवाली चुनावी मैदानमा छन् । कांग्रेसबाट विद्रोही बनेका रविन्द्र यादव बारा कांग्रेसका नेता राधेश्चन्द्र यादवका भतिजा हुन । ज्ञवाली पेशाले कानुन व्यवसायी हुन ।

सत्ता गठबन्धनमा यो क्षेत्र माओवादीको भागमा परेकोले कांग्रेसबाट यादव र ज्ञवालीले स्वतन्त्र रुपमा उमेदवारी दिएका हुन । यो क्षेत्रमा जसपाबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका रामकिशोर यादवलाई जसपा, एमाले लगायत अन्य राजनीतिक दलका नेता र कार्यकर्ताको समेत समर्थन रहेको देखिन्छ । यो क्षेत्रमा स्वतन्त्र उमेदवार रामकिशोर यादव र सत्ता गठबन्धनका उमेदवार शिवचन्द्र प्रसाद कुशवाहा विच मुख्य प्रतिस्पर्धा हुने पत्रकार गौतमको बुझाई छ ।

अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरमबाट रामसाय प्रसाद यादवले २८ हजार एकसय ८५ मत प्राप्तगरी विजयी भएका थिए । निकटत्म प्रतिद्धन्दी नेपाली काग्रेसका राधेशचन्द्र यादवले १५ हजार ७ सय ९० र नेकपा माओवादी केन्द्रबाट शिवचन्द्र प्रसाद कुशवाहाले १० हजार ५ सय ४६ मत प्राप्त गरेका थिए । यसपटक पनि पुरानै उमेदवार चुनावी मैदानमा भएपनि अघिल्लो पटक निर्वाचित रामसाय प्रसाद यादव प्रतिस्पर्धामा पछाडी पर्ने संभावना स्थानीय बुद्धिजिविहरुको भनाई छ ।

बाराको प्रतिनिधि क्षेत्र नंं. ३ मा एमालेकी ज्वाला कुमारी साह, जसपाका रामबाबु यादव र लोसपाका लालबाबु सिंह भूइहार बिच प्रतिस्पर्धा हुने देखिन्छ । यो निर्वाचन क्षेत्रमा नेकपा एमालेले माओवादी केन्द्रबाट आएकी ज्वालाकुमारीलाई टिकट दिएपनि उनी अहिलेको अवस्थमा प्रतिस्पर्धामा तेश्रोमा छिन् । मधेसका ८ जिल्लामा एमाले–जसपा गठबन्धन गरेपनि बारा क्षेत्र नं. ३ मा जसपाले एमालेको विरुद्ध उमेदवारी दिएको छ । जसपाले रामबाबु यादवलाई उमेदवार बनाएको छ । यो क्षेत्रमा सत्ता गठबन्धनका उमेदवार लालबाबु सिंह र जसपाका उमेदवार रामबाबु यादव विच प्रतिस्पर्धा हुने देखिन्छ ।

२०७४ को निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरमका रामबाबु यादवले २१ हजार ३ सय ३६ मत प्राप्तगरी विजयी भएका थिए । उनका प्रतिद्धन्दी नेकपा एमालेका अदयानन्द पाण्डेले १६ हजार ३ सय ६२ मत र नेपाली कांग्रेसका फरमुल्लाह मंसुरले १६ हजार ८६ मत प्राप्त गरेका थिए ।

बाराको निर्वाचन क्षेत्र नं. ४ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का नेता कृष्ण कुमार (किसन) श्रेष्ठ र एमालेका एकवाल मियाँ विच प्रतिस्पर्धा हुनेछ । २०७४ को निर्वाचनमा लोसपाबाट निर्वाचित मियाँले मनोनयनको अघिल्लो दिन एमालेमा प्रवेश गरेर टिकट लिएको कारण पार्टी भित्र समेत उनको राम्रो अवस्था देखिदैन । केन्द्रमा पहुँच र विकास निर्माण गर्न सक्ने नेताको रुपमा किसन श्रेष्ठले जनतामा विश्वास हासिल गरेकोले अहिले सम्मको चुनावी रेसमा सत्ता गठबन्धन भारी देखिन्छ ।

बारा जिल्लालाई कर्मक्षेत्रको रुपमा व्यापार व्यवसाय संचालन गर्दै आएका किसान श्रेष्ठले युवाहरुलाई रोजगारीमा लगाउने र विकास निर्माणका कामलाई प्रभावकारी ढंगबाट संचालन गर्ने योजना प्रति जनताको आकर्षण बढेको देखिन्छ । एमाले बाराका पुराना नेता पुरुषोत्तम पौडेललाई टिकट नदिएको कारण एमालेका समर्थकहरुले समेत एकवाल मियाँलाई सहयोग नगर्ने संकेत विभिन्न समाजिक सञ्जालमा व्यक्त विचारले प्रष्ट हुन्छ । त्यस क्षेत्रका केही एमालेका जिम्मेवार नेता कार्यकर्ताले धमाधम पार्टी छोड्दै एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

बारा निर्वाचन क्षेत्र नंं. ४ म गत निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट एकवाल मियाँले २२ हजार २ सय ७५ मत प्राप्त गरि विजयी भएका थिए । उनका निकटत्म प्रतिद्धन्दी नेकपा एमालेका देवनारायण चौधरीले २० हजार ९ सय ७ मत पाएका थिए । नेपाली कांग्रेसका लालबाबु सिंहले १४ हजार ५ सय १६ मत प्राप्त गर्न सफल भएका थिए । अघिल्लो निर्वाचनमा तीन क्षेत्रमा जित हासिल गरेको जसपाले यसपटक एमालेसँगको गठबन्धन गर्दा पनि एउटा क्षेत्र जित्न समेत मुस्कील देखिन्छ । बारामा नेपाली कांग्रेस भित्रको विवाद समाधान भएमा चारबटा क्षेत्र गठबन्धनका उमेदवारले जित्ने छन । बाराको क्षत्रे नं. २ मा जसपाबाट विद्रोह गरेर स्वतन्त्र उमेदवार दिएका रामकिशोर यादवलाई जसपा, कांग्रेस, एमालेका कार्यकर्ता लगायत स्वतन्त्र व्यक्तिहरुको समेत सहानुभूति रहेकोले उनको उमेदवारीले सत्ता गठबन्धनका शिवचन्द्र प्रसाद कुशवाहालाई अप्ठारो पार्ने आकलन गरिएको छ । यो क्षेत्रबाट नेपाली कांग्रेसबाट ३ जनाले स्वतन्त्र उमेदवारी दिएका छन् ।


सम्बन्धित समाचार