Logo

११ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले माइस्थानको बाटो अवरुद्ध गरेको बिषयमा उच्च अदालत वीरगञ्जमा परेको रिट निवेदनमा १५ दिन भित्र बाटो बन्द गर्नुपर्ने कारण पेश गर्न वीरगञ्ज महानगरपालिकाको नाउँमा आदेश जारी गरेको छ ।

गहवा मन्दिरको सौन्दर्यकरणको नाममा महानगरले सार्वजनिक बाटो अवरुद्ध गरि सर्वसाधारणको लागि सावरी साधन आवत जावतमा रोक लगाएको छ । माइस्थान क्षेत्रका पीडित पक्षको तर्फबाट रेवती प्रसाद साहले वीरगंज महानगरपालिकालाई बिपक्षी बनाई माईस्थान मन्दिरको बाटो खोल्न उच्च अदालत अस्थायी इजलास वीरगंजमा रिट निबेदन दर्ता गराएका थिए ।

उक्त रिट निवेदनको विषयमा आज भएको प्रारम्भिक बहसमा के कति कारणले बाटो अवरुद्ध हुन पुगको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सबुद प्रमाण सहित म्याद सूचना पाएका मितिले १५ दिन भित्र आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनी उच्च अदालत वीरगञ्जले आदेश गरेको छ ।

उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगञ्जका न्यायाधीश सुदर्शन देव भट्टको इजलासले निवेदकले अन्तरिम आदेशको माग गरेको सम्बन्धमा दुबै पक्षलाई राखी हुने छलफलबाट निष्कर्षमा पुग्न उपयुक्त हुने देखिदा सो प्रयोजनको लागि माघ १७ गते मंगलबार पेशी तोक्न आदेश दिएको छ ।

रिट निवेदकको तर्फबाट अधिवक्ताद्वय सुधिर कुमार कर्ण र शैलेन्द्र कुमार चौरसियाले बहस गरेका थिए ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको एकल निर्णयमा माइस्थान आसपासमा बसोबास गर्ने १५० घर परिवारलाई आफ्नो घरसम्म सवारी साधन समेत लैजान नपाउने गरी सार्वजनिक बाटो अवरुद्ध गरेका छन । उनले दादागिरीको र्शैलीमा सार्वजनिक बाटो अवरुद्ध गरी जनतालाई दुख दिने नियतले कामगरेकोले न्यायको लागि अदालतको ढोकामा पुग्नु परेको रेवती साहले बताए ।


सम्बन्धित समाचार