Logo

७ चैत,ठोरी । पाटे बाघले ठोरीका एक किसानको खोर नै रित्याएको छ । गएराति ठोरी गाउँपालिका वडा नम्बर ४, घ्याङडाँडाका किसान मिकमार लामाको घरगोठमा पसेर बाघले एउटा वयस्क भैंसीको पाडा र ६ ओटा बाख्रा मारेको पीडित किसान लामाले बताउनुभयो ।

बाघले आक्रमण गरेको लामाको घरगोठ ठोरी गाउँपालिका कार्यालय अगाडि रहेको छ । राति घरमा सुतिरहेको बेलामा एक्कासि गोठमा प्रवेश गरेको बाघले भैंसीको पाडालाई आक्रमण गर्नेबित्तिकै लामा दम्पतीले बाघ आएको चाल पाएका थिए ।

त्यसपछि होहल्ला गरेर गाउँलेलाई बोलाएका थिए । रातिको समयमा भेला भएका स्थानीयले समेत बाघ धपाउन नसकेपछि नेपाली सेना, सशस्त्र प्रहरी, पर्सा राष्ट्रिय निकुन्जका कर्मचारी लगायतको सहयोगले बिहान करीब ४ बजेमात्र बाघलाई जङ्गल धपाइएको पीडित किसान लामाले बताउनुभयो ।

बाघको आक्रमणबाट लामालाई करीब १ लाख भन्दा धेरै क्षति पुगेको छ । बाघ फेरि गाउ पस्ने डरले घ्याङडाँडाका स्थानीय बासी त्रसित भएका छन् ।


सम्बन्धित समाचार