Logo

१८ चैत,गोरखा । सरकारले राष्टिय शहिद घोषण गरेको गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ हिडीटारका चन्द्रप्रसाद खनालका परिवारले कुशको शव बनाएर आफ्नो मान्छेको अन्तिम संस्कार गरेका छन् ।

२०५८ साल मंसिर १६गते घर नजिकैको खेतबाट दाँही गरिरहेको अवस्थामा तत्कालिन शाही सेनाले कथित माओवादीको आरोपमा पक्राउ गरी बेपत्ता बनाएको थियो । बुवा बेपत्ता बनाएको लामो समयसम्म केही प्रमाण प्राप्त होला कि भनेर आफूहरुले अन्तिम संस्कार नगेको भएपनि अब सरकारले शहिद घोषणा गरेका कारण अब अन्तिम संस्कारका लागि लम्बाउन आवश्यक नठानेर संस्कार गरिएको पत्रकार समेत रहेका चन्द्रप्रसाद खनालका कान्छा सुपुत्र कृष्णउदास खनालले बताउनुभयो ।

राज्यले अहिलेसम्म पनि शहिदको अवस्थाका बिषयमा जानकारी नदिनु बिडम्बना भएको उहाँको तर्क छ। राज्यले आफ्ना मान्छेलाई शहिद घोषणा गर्नु सकारात्मक भएपनि अझै पीडकलाई कारवाही र पीडितलाई भरणपोषणको ब्यवस्था हुनुपर्ने माग चन्द्र खनालकी पत्नी पित्तकुमारी खनालले बताउनुभयो । शहिद चन्द्रको दुई छोरा र दुई छोरी छन् ।

चन्द्रप्रसाद खनालको संक्षिप्त परिचय
२००२ साल मंसिर २ गते पिता गंगाधर र माता उमादेवी खनालको कोखबाट माइलो सन्तानको रुपमा जन्मनु भएका चन्द्रप्रसाद खनालले साधारण शिक्षा मात्र लिनु भएको थियो । पिता गंगाधर खनाल पनि राजनीतिक चेत र परिवर्तनको पक्षमा रहेका कारण राजनीतिमा बुवाको प्रभाव छोरमा देखिन्छ ।

यद्यपी राणकालिन समयमा काँग्रेस समर्थनमा रहेका आफ्ना पिता गंगाधरलाई प्रहरीले काँग्रेस भएकै नाताले पक्राउ गरी भच्चेक स्थित चौकीमा थुन्न खोज्दा काँग्रेसले नै साथ नदिएपछि र २०२० सालमा चर्चित जोताहा काण्डमा समेत सहभागी रहेका आफ्ना बुवालाई सहयोग नगरेपछि उहाँ कम्यूनिष्टतिर झुकाव राखेको देखिन्छ ।

२०३६ सालमा भएको जनमत संग्रहमा पनि चन्दप्रसादको प्रत्यक्ष भूमिका थियो । स्थानीय चर्चित दारिमबोटे काण्डमा चन्द्रले परिवर्तनकारीलाई सघाएको देखिन्छ । आफ्नै भान्जा श्रीनाथ अधिकारीबाट बढी प्रभावित बनेका खनाल २०४० सालतिर नै तत्कालिन मसालका नेताहरु प्रचण्ड,बावुराम भट्टराई,रामबहादुर थापा संग सम्पर्क भएको थियो ।

श्रीनाथ उत्तिबेला नै भूमिगत जस्तो थिए नै ।२०४० सालमा चन्द्र खनाललाई केही मण्डले प्रबित्ति भएकाले घरमा नै जिउदै जलाएर मार्नका लागि घरमा आगो लगाउने प्रयास भएको थियो र सोही समयमा उहा जंगलमा गएर प्राण बचाउनु भएको थियो । २०५२ सालमा जनयुद्ध शुरु हुँदै गर्दा उहाँको खास भूमिका थिएन ।

पछि २०५४ सालमा श्रीनाथ अधिकारीका छोरा नारायण अधिकारी पनि माओवादीमा भूमिगत भएपछि भने नारायणको सेल्टरको रुपमा चन्द्रखनालको घर रहन गयो र क्रमशः माओवादीहरु खनालको घरमा आउनेक्रम बढ्यो र उहालाई मामा भन्न थालियो । पार्टीमा नै मामा भनेर उहा चिनिनु हुन्थ्यो । २०५६ साल भदौमा कक्षा दशमा पढ्दै गरेको कान्छा छोरा कृष्ण खनाल(हाल पत्रकार रहेका)लाई प्रहरीले बिद्यालबाट नै पक्राउ गरी उहाकै अगाडि निर्धात कुटपिट पनि भएको थियो ।

कान्छो छोरालाई पटक पटक गोरखा जेलमा थुनिएको थियो । जब २०५८ मंसिर ८ मा तत्कालिन शेरबहादुर देउवा सरकारले देशभर संकटकाल घोषणा गरेपछि गोरखाको भच्चेक स्थित स्थानमा ११ गते सेनाको ब्यारेक खडा गरियो र १६ गतेबाट बेपत्ता बनाइयो । त्यत्तिबेला उहाँ केवल पार्टी आवद्ध किसान संघको इलाका सदस्य मात्र रहनु भएको थियो । सामान्य कृषि पेशमा संलग्न रहनु भएका खनाललाई सेनाले लैजाँदा साधारण कपडा मात्रै लगाउनु भएको थियो ।


सम्बन्धित समाचार