Logo

१९ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अन्तर्गतको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी भ्रष्टाचारको अभियोगमा रङ्गेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमा छापा मारी भन्सार अधिकृत इन्द्र न्यौपाने, नायक सुब्बा छवि प्रसाद रिजाल र कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीलाई नियन्त्रणमा लिएको हो । कुरियर कम्पनीमार्फत विदेश पठाउने सामान सहज गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको गोप्य सूचनाका आधारमा आयोगले यो कारबाही अघि बढाएको थियो ।

पक्राउ परेकामध्ये कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको साथबाट घुस बापतको १० हजार र स्रोत नखुलेको १ लाख ३६ हजार ४२० गरी कुल १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद भएको छ । त्यस्तै, निकासी शाखामा कार्यरत नासु छवि प्रसाद रिजालको साथबाट २० हजार रुपैयाँ घुस रकम र स्रोत नखुलेको थप २ लाख ६८ हजार २८८ रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ । नगदका अतिरिक्त उनीहरूको कार्यस्थलबाट शङ्कास्पद अवस्थामा रहेका २३ थान मोबाइल फोन समेत बरामद गरिएको छ, जसलाई अनुसन्धानको घेरामा राखिएको छ ।

विमानस्थल जस्तो संवेदनशील क्षेत्रको भन्सार प्रक्रियामा संलग्न कर्मचारीहरू नै गैरकानुनी लाभ लिन सक्रिय रहेको पाइएपछि अख्तियारले यसलाई गम्भीर रूपमा लिएको छ । बरामद गरिएको रकमको वैधानिकता र यस गिरोहमा अन्य व्यक्तिहरूको संलग्नताबारे विस्तृत अनुसन्धान भइरहेको आयोगले उल्लेख गरेको छ । सरकारी सेवालाई पारदर्शी बनाउनुपर्ने जिम्मेवारीमा रहेका कर्मचारीहरू नै घुससहित समातिएपछि भन्सार प्रशासनको शुद्धीकरणका विषयमा फेरि एकपटक प्रश्न उठेको छ ।


सम्बन्धित समाचार