Logo

३१ वैशाख,काठमाडौं । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । अनुसन्धानको अन्तिम चरणमा सुरक्षा सल्लाहकार इन्द्रजीत राईको बयानको आधारमा उनलाई पक्राउ पूर्जी जारी गरिएको हो । प्रहरीले आइतबार उनका विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहकाभन्दै ठगी गरिएको प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।

जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न पुर्जी दिएको स्रोतले बतायो । बुबा गृहमन्त्री भएका बेला प्रतीकले मानव बेचबिखन गिरोहबाट आर्थिक लाभ लिएर अनुचित कार्य गरेको प्रहरीले प्रमाण जुटाएकाले पक्राउ पुर्जी जारी गरिएको स्रोतको दावी छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थहरु धमाधम पक्राउ पर्न थालेसँगै उनी फरार थिए । यसअघि पक्राउ परेका पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईको बयानपछि प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनले यसअघि आफू सो प्रकरणमा कुनै पनि रुपमा संलग्न नभएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

तत्कालीन गृहमन्त्रीका रुपमा रहेका रामबहादुर थापाले भने यो विषयमा केही बोलेका छैनन । थापाका छोरा प्रतीकको संलग्नता रहेको भन्दै यसअघि लगातार समाचार सम्प्रेषण भएपछि उनले विज्ञप्ति मार्फत आफू संलग्न नभएको जनाएपनि प्रहरीले उनलाई पक्राउ गर्ने आधार फेला पारेको भन्दै पक्राउ पूर्जी मागेको थियो । आइतबार जिल्ला अदालत काठमाडौंले उनका विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । यतिबेला उनी फरार रहेका छन् ।

सो प्रकरणमा नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । शरणार्थी प्रकरणको गिरोहका नाइके हिरासतमा रहेका सानु भण्डारीलाई भेटेका उनीमाथी पक्राउ पुर्जी जारी भएको हो । उनी २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका थिए ।शेर्पा घटना सार्वजनिक भएपछि मोबाईल अफ गरी बेपत्ता भएका छन्। उनको प्रहरीले शुक्रबारदेखि नै खोजी गरे पनि अझैसम्म फेला पार्न सकेको छैन।

सो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप, पूर्वगृह सचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।

यस प्रकरणको गिरोहका नाइकेको रुपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, पाँचथरका टेक गुरुङ र मोरङका सागर राई लगायत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्व उपप्रधानमन्त्री रायमाझी र इन्द्रजीत राईका छोरा निरज राई भने फरार रहेका छन् ।

 


सम्बन्धित समाचार