Logo

९ जेठ, वीरगञ्ज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीको नाम सिफारीस गरेपछि प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतो नियुक्त भएका छन् । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भएकी छन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेर कार्यभार तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सप्तरीबाट निर्वाचन हारेपनि उपनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित उपेन्द्र यादवले आफ्नो पार्टीबाट पठाउने मन्त्रीमा पर्साका सांंसद प्रदीप यादवलाई मन्त्री बनाउने आश्वासन दिएका थिए । उप निर्वाचनको समयमा आफूले दिएको आश्वासन पुरा नगरेर वीरेन्द्र महतोलाई बन मन्त्री र प्रमिला कुमारीलाई राज्यमन्त्री सिफारीस गरेका हुन ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको कदमले पर्साका सांसद प्रदीप यादवलाई झड्का लागेको छ । सदन र सरकारमा दमदार प्रस्तुती राख्न सक्ने क्षमता भएका सांसद प्रदीप यादवलाई पाखा लगाउने योजना अनुसार नै उपेन्द्रले मन्त्री नबनाएको स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार