Logo

२१ जेठ, काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा परेको मुद्दामाथि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको हो ।

यो प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एंव पूर्व गृह मन्त्री बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि प्रहरीले आइतवार (आज) जिल्ला अदालतमा उपस्थित गराएको हो ।

नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न भएका आरोपमा पक्राउ परेकाहरुसँगको बयान शुक्रबार सकिएको थियो ।

आज जाहेरीकर्ताको तर्फबाट सरकारी वकिलले बहस सुरु गरेका छन् । इजलासमा न्यायाधीश न्यौपानेले जाहेरीकर्ताको तर्फबाट बहसका लागि सरकारी वकिललाई तीन दिनको समय प्रदान गरेका छन् । यस्तै प्रतिवादीको तर्फका वकिललाई ६ दिनको समय तयार गरेका छन् ।

थुनछेक बहस सकेर अर्को साताको बुधबार आदेश सुनाउने न्यायाधीश न्यौपानेले इजलासमा बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले वयान लिएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो ।


सम्बन्धित समाचार