Logo

५ असार,वीरगञ्ज । वीरगञ्जको गहवास्थित माईस्थान मन्दिरको ११ औं वार्षिकोत्सवको अवसरमा वीरगञ्जमा आज रथ यात्रा निकालिएको छ । आज गहवामाई मन्दिर परिसरबाट विहान ६ बजे रथयात्रा निकालिने भनिएपनि पौने ८ बजे यात्रा निकालिएको रथयात्रा व्यस्थापन समितिले जनाएको छ ।

रथलाई गहवामाई मन्दिरको आकृतिसँग मिल्दोजुल्दो गरी बनाईएको र दुलही झै सिङ्गारिएको थियो । हिन्दुहरुको आस्था गहवामाईको सो रथयात्रामा करिब ३५ हजार भक्तजनहरुको उत्साह जनक सहभागीता रहेको थियो । रथयात्रामा मधेसमा प्रचलित लोक बाजा तासा र पहाडको लोकप्रिय बाजा पञ्चेबाजा सहित विभिन्न भेषभूषा सहितको झाँकी प्रदर्शन गरिएको छ ।

वीरगन्ज सहित पर्सा, बारा, रौतहट, र छिमेकी मुलुक भारतबाट पनि भक्तजनहरु आएका छन् । गहवामाईको स्थापना भएदेखि अहिले सम्म कुनै भव्य कार्यक्रम नभएकोले यसपटक ११ औं वार्षिकउत्सको अवसर पारेर निकालिएको रथयात्रामा युवा पुस्ताको धार्मिक आस्था र आध्यात्मतर्फ आकर्षण देखिएको रथयात्रामा सहभागी बुद्धिजीवीहरुले बताएका छन् ।

नवमीको मेला भन्दा पनि यस रथ यात्रामा बढी संख्यामा युवाहरुकै सहभागीता देखिएको र धर्मप्रतिको आस्था युवाहरुमा पनि बढ्दै गएको पुष्टी गरेको यात्रामा सहभागी मधेशप्रदेशका वन तथा वातावरणमन्त्री रमेश कुर्मीले बताउनुभयो । रथ यात्रामा दुर्गा माताको रुपमा बालिकालाई सिंङ्गारेर राखिएको थियो ।

रथ यात्राको सुरुक्षा व्यवस्थाका लागी ठुलो संख्यामा नेपाल प्रहरीलाई खटाइएको थियो । भने सिमा सुरक्षार्थका लागी सशस्त्र प्रहरी र ट्राफिक व्यस्थापनका लागी ट्राफिक प्रहरीलाई खटाइएको छ । मानव सेवा गर्ने दातृ संस्था वा व्यक्तिहरुले यात्रामा सहभागीहरुलाई ठाउँठाउँमा पिउने पानी र सर्वत वितरणको व्यस्था मिलाएका थिए ।

गहवामाई मन्दिर समितिले अब हरेक बर्ष स्थापना दिवसको अवसर पारेर रथ यात्रा निकाल्ने निर्णय गरेको अध्यक्ष श्याम पोखरेलले जानकारी दिनुभयो ।

विहान पौने ८ बजे देखि गहवामाई मन्दिरको प्राङगणबाट निकालेर रेलवे रोड हुँदै रामटोल, रेशमकोठी, विर्तामन्दिरबाट मेनरोड हुँदै अलखियामठ, आदर्शनगर, माईस्थान भएर पुन गहवामाई मन्दिरमा पुगेर समापन गरिने रथ यात्रा व्यस्थापन समितिले जनाएको छ । वीरगञ्ज महानगरपालिकाले आज सार्वजनिक बिदा समेत दिएको छ ।

 

 


सम्बन्धित समाचार