२२ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मुख्य नाला सफाई गर्ने कार्यलाई निरन्तरता दिएको छ । नाला अतिक्रमण गरेर बनाइएको आदर्शनगर क्षेत्रको संरचनामा डोजर चलाउदै उक्त कार्यलाई आजपनि निरन्तरता दिएको हो ।
वीरगञ्जमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्काे नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउँ हुँदै दक्षिणतिर बगेको छ । गीता मन्दिर देखि आदर्शनगर हरिखेतान क्याम्पस सम्मको क्षेत्रमा मुख्य नालाको दुबै तर्फ अतिक्रमण गरेर संरचना निर्माण गरिएको छ । आदर्शनगरको क्लासिक होटल पनि नाला माथि नै निर्माण गरिएको छ ।
क्लासिक होटल पछाडीसम्मको मुख्य नालामा बनेका संरचना हटाउँदै नाला पूर्ण रुपमा सफाई गरि सकिएको छ । महानगरले राष्ट्रिय वाणिज्य बैंक पछाडीतर्फ पनि हरिखेतान क्याम्पससम्मको क्षेत्रमा पर्ने मुख्य नालामा परेका संरचना हटाउँदै नाला सफाई गर्ने क्रम अगाडी बढाएको हो ।
सोही अनुसार आज तिनवटा संरचनामा महानगरले डोजर लगाएर हटाएको हो । आज वीरगञ्ज–१० आदर्शनगरस्थित होटल ओम रेसिडेन्सीको भवन, आश्विनी शर्माले निर्माण गरेको भवन र सत्यनारायण रौनियारले निर्माण गरेको भौतिक संरचना २ वटा डोजर लगाएर हटाइएको वडा नम्वर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले जानकारी दिनसभयो ।
महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि आफैले डोजर लगाएर हटाएको उहाँले बताउनुभयो ।
वर्षौँदेखि मुख्य नाला सफाई नहुँदा वीरगन्ज वर्षातको समयमा डुबानमा पर्ने गरेको छ ।




















