Logo

फाइल तस्बिर

४ साउन, वीरगञ्ज । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । सो प्रकरणमा पक्राउ परेका ६ जनामध्ये चारजनाको नाम र ठेगाना खुलेको अनुसन्धान विभागले जनाएको छ ।

राजश्व अनुसन्धान विभागका अनुसार दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ पक्राउ परेका हुन् ।

विमानस्थल भन्सार गेटबाट सुन बोकेको बा.२ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार सुनसहित नियन्त्रणमा लिइएको थियो । राजस्व अनुसन्धान विभागले बरामद सुन तौलिन नेपाल राष्ट्र बैंकमा लैजाने तयारी गरेको छ भने बरामद उक्त सुन करिब एक सय किलो रहेको अनुमान गरिएको छ ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताए । सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए ।

नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । “तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ”, उनले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सार जाँच पास गरेर करिब १०० किलो सुन बाहिरिनुले विमानस्थलको आन्तरिक प्रणालीमाथि नै प्रश्न खडा गराएको विज्ञहरुले बताएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका पूर्वनिर्देशक राजेन्द्रसिंह भण्डारीका अनुसार, विमानस्थलको सबै जाँच पार गरेर १०० किलो सुन बाहिरिनुले विमानस्थलभित्रको सबै संयन्त्रमाथि छानबिन आवश्यक रहेको देखाएको छ ।

‘फेरि यो सानो परिमाणमा आएको सुन होइन, यत्रो ल्याउनलाई कुनै साँठगाँठबिना कोही किन तयार हुन्छ, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) समेत रहेका भण्डारी आशंका गर्छन्, ‘त्यसैले विमानस्थलभित्र प्रहरी, भन्सारदेखि लिएर अन्य संयन्त्रका कर्मचारीहरुमाथि पनि छानबिन आवश्यक देखिएको छ ।’

हाल विमानस्थलमा प्रविधिको पनि विकास भएर बाक थ्रु, एक्स रे, सीसी क्यामरा, मेटल डिटेक्टर लगायत राखिए पनि सबै जाँच कसरी पार भयो भन्ने अनौठो देखिएको उनले अनलाइनखबरसँग बताए ।

राजश्व अनुसन्धान विभागले बुधबार विमानस्थलबाहिर झण्डै एक क्वीन्टल सुन बरामद गरेको थियो । मोटरसाइकलको ‘ब्रेक शु’मा लेप लगाएर ल्याएको सुन विशेष सूचनाको आधारमा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

 


सम्बन्धित समाचार