Logo

फाइल तस्बिर

२७साउन,वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका–७ सिम्रौनगढस्थित नगर अस्पताल लगभग एक महिना देखि बन्द रहेको छ । गत असार ३१ गतेदेखि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीहरू ताला बन्द गरी हडतालमा बसेकाले अस्पतालको सेवा बन्द भएको हो ।

अस्पताल बन्द भएको अहिले २८ दिन भएको छ । अहिले २८ दिनदेखि स्वास्थ्यकर्मी र कर्मचारी तलब माग गर्दै अस्पतालमा तालाबन्द गरी हडतालमा छन् ।जसका कारण अस्पतालबाट पाईने सेवा सुबिधा बिरामी र आम जनताले पाएका छैनन् । १५ शैयाको यो अस्पतालबाट सिम्रौनगढ र आसपासका मानिसहरूले सेवा पाइरहेका थिए ।

२४ घण्टे सेवाका कारण अस्पतालप्रति स्थानीयको आकर्षण बढेको थियो र पहिलो उपचार यसै अस्पतालमा हुँदै आएको थियो । तर पछिल्लो तीन महिनादेखि तलब नपाएको कारण स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन ।

त्यहाँ कार्यरत स्वास्थयकर्मीहरुले तीनदेखि १४ महिनासम्मको तलब भता नपाएको बताएका छन । २०७८ जेठ २१ गते पूर्वनगरप्रमुख विजयशङ्कर यादवले अस्पतालको उद्घाटन गरेपछि नगर अस्पताल सञ्चालनमा आएको थियो ।

अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी २४ जना कार्यरत छन् । २४ जनामध्ये चारजना स्थायी र बाँकी करार, अस्थायी ज्यालादारी छन् । अति आवशयक सेवाभित्र पर्ने नगरमा रहेको अस्पताल बन्द हुदा पनि जनप्रतिनिधिहरूको आपसी द्वन्द्वका कारण अस्पताल सञ्चालनतर्फ पहल गरेका छैनन् ।स्वास्थ्यकर्मी, कर्मचारीहरू अहिले आलोपालो अस्पतालमा धर्ना दिंदैछन् ।

बिरामीहरू भने आज खुल्छ, भोलि खुल्छ भनेर दिनहुँ अस्पतालमा आउने तर सेवा नपाएर फर्कने गरेका छन् । समस्या समाधानको लागि तीनपटक बैठक बोलाइएको तर बस्न नसकेको नगरपालिका कार्यालयका कर्मचारीले बताएका छन् ।

नगरप्रमुख किशोरीप्रसाद कलवारले अस्पताल सञ्चालनका लागि हालसम्म ९६ लाख रुपैँया दिइसकेको तर त्यसको हरहिसाब प्रस्तुत नगरिएको बताउनुभयो । नगर अस्पतालका चिकित्सक डा.जीतेन्द्र यादव जनप्रतिनिधिहरूको बैठक बसेको बखत अस्पतालको सम्पूर्ण गतिविधि प्रस्तुत गर्ने बताउनुभयो ।


सम्बन्धित समाचार