Logo

३० असोज,वीरगञ्ज । नेपाल म्यूजिक भिडियो निर्देशक समाजले अध्यक्ष भुवन केसीलाई म्यूजिक भिडियोको क्षेत्रलाई बोर्डअन्तर्गत राख्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । म्यूजिक भिडियोलाई फिल्मको परिभाषामा समेटेर यस क्षेत्रको पनि अभिभावक बन्न चलचित्र विकास बोर्डको ध्यानाकर्षण गराएको छ ।

सोमबार समाजका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डे, सह-सचिव समन अधिकारी, कोषाध्यक्ष बबिता श्रेष्ठ, सदस्यहरू दयाराम घिमिरे, देवेन्द्र कुँवर र देवराज आचार्य आदिले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

बोर्डले समेट्ने क्षेत्रको परिभाषामा चल्ने चित्रलाई ‘चलचित्र’ भनिएको तर निर्माण हुने प्रक्रिया, विधि, प्रविधि, प्रयोग तथा कलाकार, प्राविधिक, निर्देशक लगायतका विषयहरु म्यूजिक भिडियोमा पनि एकै किसिमको रहेको भए पनि म्यूजिक भिडियोलाई फिल्मको परिभाषाको प्रक्रियामा नराखिएकोमा समाजले आपत्ति जनाएको छ ।

म्यूजिक भिडियोमार्फत् देशका विभिन्न जातजाति, भाषा, कला-संस्कृतिको जगेर्ना गर्दै अर्थतन्त्र, पर्यटन, रोजगारी लगायतमा यो क्षेत्रले मद्दत पुर्‍याउँदा पनि म्यूजिक भिडियोलाई फिल्मको परिभाषामा समावेश नगरिनु र औपचारिकतामा प्रवेश नगराउनु आफैंमा पक्षपाती विषय भएको पत्रमा उल्लेख छ ।

दैनिक डेढ करोड हाराहारीको लगानी तथा हजारौँले रोजगारी पाइरहेको अवस्थामा पनि यस क्षेत्रलाई हेर्ने राज्यको कुनै निकाय नहुँदा राज्यले राजस्वको ठूलो हिस्सा गुमाइरहेको पत्रमा भनिएको छ । समाजले बोर्डलाई पत्रमार्फत् राज्यले म्यूजिक भिडियोको क्षेत्रबाट लिन सक्ने सम्भावित फाइदाहरू र राजस्व शीर्षकहरूबारे जानकारी गराएको छ ।

पत्र बुझ्दै अध्यक्ष केसीले जरुरी रहेको विषय समाजले जानकारी गराएको र आगामी बैठकमा यसबारेमा प्रस्ताव राख्ने बताए । केसीले सञ्चार मन्त्रालयमा यसबारेमा जानकारी गराई ठोस निर्णय गर्ने आश्वासन पनि दिएका छन् । समाजका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डेले सोही प्रकृतिको ध्यानाकर्षण पत्र सञ्चार मन्त्री रेखा शर्मालाई पनि बुझाउने बताए ।


सम्बन्धित समाचार