Logo

८ मंसिर,सेढवा । केही बर्षदेखि पर्सामा खेतियोग्य जमिनमा कमि आउदैँ गएको छ । खेतीयोग्य जमिनहरु कृषि बाहेकका काममा प्रयोग हुन थालेपछि खाद्यन्न उत्पादन गरिने जग्गामा भने कमि हुदैँ गएको हो ।

जिल्लाका ग्रामीण भेगमा हुलाकी राजमार्ग, जनता सडक, गण्डक सडक तथा वीरगञ्ज–पोखरिया–भिस्वा सडकको निर्माण कार्यसँगै यस क्षेत्रका खेतीयोग्य जमिन मासिन थालेको बताइएको छ । खेतीयोग्य जमिनमा देशका धनाढ्य तथा उद्योगपतिहरुले उद्योग, कलकारखाना, कुखुरापलन, गाईभैसी पालन तथा प्लटिङ्ग गर्न थालेपछि खेतीयोग्य जमिन मासिन थालेको हो ।

यी सडकखण्डहरुको आसपासमा रहेका खेतीयोग्य जमिन खरिद गरी अहिले बाझै राखिएको छ । पटेर्वासुगौली गाउँपालिका वडा नं ५ स्थित हुलाकी राजमार्गसंगै रहेका मनिहर्वा र निचुटाको बीचमा खरिद गरिएका करिब २५ बिघा जमिन अहिले बाझै छाडिएको छ ।

त्यस्तै जिराभवानी गाउँपालिका वडा नं ४ मा दाना फ्याक्ट्रीका लागि ३५ बिघा जमिन खरिद गरिएको स्थानियले जनाएका छन् । खासगरी हुलाकी राजमार्गमा पर्ने जग्गा उद्योग संचालनका लागि सयौं बिघा खरिद गरिएका स्थानियको भनाइ छ ।

यस्तै कतिपय जग्गामा उद्योग समेत संचालन भइसकेका छन् । त्यस्तै ठोरी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउपालिका तथा पर्सागढी नगरपालिका र वीरगंज महानगरपालिकाको खेतीयोग्य जमिनमा पोल्ट्री फार्महरु संचालनमा ल्याइएको छ ।

त्यस्तै कतिपय स्थानमा घर बनाउन प्लटिङ्ग तथा कृषिलाई बिस्तापित गरी बगैँचा तथा मत्स्य पालनका लागि पोखरी खनिएका छन् । पर्सामा ५४ हजार ७ सय ३२ हेक्टर जमिन खेतियोग्य रहेका कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसादले जानकारी दिए ।

सो मध्ये ४७ हजार १ सय ३० हेक्टर जमिनमा खेती भईरहेको र बाँकी जमिनमा बगैँचा तथा पुराना पोखरी र जलाश्य रहेका उनको भनाइ छ । अहिले प्लटिङ्ग, उद्योग संचालन र थप नयाँ पोखरी निर्माणका लागि १० हजार हेक्टर जमिन मासिएको उनले बताए ।

प्रमुख मुनिलालका अनुसार हाल जिल्लामा ३७ हजार १ सय ३० हेक्टर जमिनमा मात्र धानबालीको खेती भएको छ । खेतियोग्य जमिनको संरक्षण गर्न नसके वा यस्तै क्रियाकलाप निरन्तर चलिरहे केही बर्षमा बाहिरी जिल्लाबाट खाद्यन्न आयात गर्ने अवस्था सिर्जना हुने उनले जनाए ।


सम्बन्धित समाचार