Logo

१७ फागुन,जनकपुर । रातु नदी उत्खननको विषयलाई लिएर स्थानीय राजनीति दलहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

वातावरण तथा पर्यावरणलाई असर पार्ने गरी मापदण्ड विपरीत बर्दिवासस्थित रातु खोलाको विभिन्न खण्डमा अवैध उत्त्खनन भएको भन्दै बिहीबार दलहरुले संयुक्त रुपमा मुद्दा दर्ता गरेका छन् ।

वातावरणमा प्रतिकुल असर पार्नेगरी आईई रिपोर्ट बनाएको, मापदण्डविपरीत नदिजन्य पदार्थ उत्त्खनन गरेको, स्थानीय सरकारले नै अवैध दोहनमा पक्षपोषण गरेको जस्ता प्रश्न उठाएर मुद्दा दायर गरिएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीसहितका प्रतिनिधिहरुले १२ वटा कार्यालयहरुलाई विपक्षी बनाएर उत्प्रेषणयूक्त परमादेशको आदेश माग गर्दै रिट दायर गरेक छन् ।

दायर गरिएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति महोतरी, बर्दिबास नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय महोत्तरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय मधेश प्रदेश, देव विष्णु कन्टक्सन एण्ड सप्लायर्स प्रा.लि., राजेश एण्ड ब्रदर्श निर्माण तथा सप्लायर्स प्रा.लि. दोलखा जिल्ला भिमेश्वर नगरपालिका र राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समिति सातादोवाटो ललितपुरलाई विपक्षी बनाएको छ ।

सो रिटमाथि यही फागुन २० गते नै पेशी तोकिएको निवेदकको तर्फबाट बहस गर्ने अधिवक्ता पदम बहादुर श्रेष्ठले जनाएका छन् ।


सम्बन्धित समाचार