२१ जेठ, वीरगञ्ज । वातावरण संरक्षण तथा हरित सहर निर्माण गर्ने उद्देश्यसहित ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरले वीरगञ्जमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय पर्साको परिसर तथा जिल्ला प्रहरी कार्यालय पर्साको खेलमैदान क्षेत्रमा आयोजित कार्यक्रममा करिब १०० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।
ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एसएसपी शान्तिराज कोइराला, जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्की विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए ।
त्यसैगरी ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटुवाल, इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईं, लायन्स क्लबकी पिया सिंह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, सामुदायिक प्रहरीका पदाधिकारी, आजीवन सदस्य तथा नेपाल प्रहरीका जवानहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले वातावरण संरक्षणका लागि वृक्षारोपणजस्ता अभियान अपरिहार्य रहेको बताए। उनले हरित, स्वच्छ र स्वस्थ वातावरण निर्माणमा सबै नागरिकको साझा दायित्व रहने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रमका अध्यक्ष जयप्रकाश खेतानले वातावरणीय सन्तुलन कायम राख्न तथा भावी पुस्ताका लागि हरियाली संरक्षण गर्न वृक्षारोपण अत्यन्त आवश्यक रहेको बताए। उनले समुदाय र प्रहरीबीचको सहकार्यले यस्ता सामाजिक तथा वातावरणीय अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
सहभागीहरूले वृक्षारोपणमार्फत वातावरण संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम अन्तर्गत विभिन्न प्रजातिका फलफूल तथा छायाँ दिने बिरुवाहरू रोपिएका थिए ।


















