Logo

२४ फागुन,वीरगञ्ज । नेपाल टेलिभिजनका पर्सा संवाददाता नेहाल खानको निधन भएको छ । बीरगञ्जका क्रियाशिल पत्रकार खानको वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचारका क्रममा गएराति मृत्यु भएको पारिवारिजनले जनाएका छन् ।

यही सोमबारदेखि अस्पतालको आइसीयुमा भर्ना भएका खानको उपचारकै क्रममा गएराति सवा १० बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको हो ।
करिब दुई दशक भन्दा बढी समयदेखि वीरगञ्जमा सक्रिय पत्रकारिता गर्दै आएका ५२ वर्षीय खान वीरगञ्ज वडा नम्बर ३ प्रगतिनगरका स्थायीबासी हुन् ।

कोभिड महामारीका बेला कोरोनाको चपेटामा परेर सिकिस्त भएका खान त्यस बेला नेशनल मेडिकल कलेजमा भर्ना भइ उपचार गराएका थिए । तर त्यसबेला कोभिड नेगेटिभ भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किए पनि उनको छाती र फोक्सोको समस्या पूर्णरूपमा निको भएको थिएन ।

करिब १० महिनापहिले फेरि छाती र फोक्सोको समस्या देखिएपछि नारायणी अस्पतालमा उनी उपचार गराएका थिए ।
नारायणी अस्पतालमा करिब दुई महिनाको उपचारपछि पुनः घरमै चिकित्सकको रेखदेखमा अक्सिजन लिएर उपचार गराई रहेको परिवारजन बताउँछन् । खानकी पत्नि अजमा खातुन पनि क्यान्सर रोगबाट ग्रसित भई उपचाररत छिन् ।

खानका दुई छोरी र दुई छोरा छन् ।
गएराती मृत्यु भएका खानको आज दिउँसो ढेड बजे मुस्लिम संस्कृतिअनुसार दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको दाहसंस्कार आदर्शनगर पानीटंकी नजिकैको कब्रिस्तानमा हुनेछ ।

 


सम्बन्धित समाचार