Logo

२५ फागुन,काठमाडौं । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज नेपालमा ‘महिलामा लगानी स् सभ्य र समुन्‍नत समाजको थालनी’ भन्‍ने नारासहित मनाइँदैछ।

दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा महिला अधिकारकर्मीलगायत महिला हक अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा कार्य गर्दै आएका सम्पूर्ण सङ्‍घ संस्था तथा व्यक्तिहरूमा शुभकामना व्यक्त गरिएको छ। यस वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको लागि संयुक्त राष्ट्र संघले ‘इन्भाइट इन हुमेन एक्सेलेरेट’ भन्‍ने नारा तय गरेको छ।

प्रधानमन्त्री प्रचण्डले महिलाको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हक अधिकार सुनिश्‍चित गर्न आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण शहिदप्रति श्रद्धाञ्जली पनि अर्पण गरेका छन्।

‘नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गहरूमा महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको छ’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएकोछ , ‘सम्पत्तिमा समान अधिकारको प्रत्याभूति, प्रतिस्पर्धात्मक क्षमताको विकास, आत्मनिर्भरता, रूढीवाढी चिन्तन र मान्यतामा गुणात्मक हेरफेर आएको छ। महिलाको हक हित र अधिकारको संरक्षण एवम् प्रवर्द्धन, महिला सहभागिता, महिला सशक्तिकरण र समानताको लागि सरकारले विभिन्‍न नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको छ। देशको समृद्धिमा महिलाको योगदानको कदर गर्दै राज्यका विभिन्‍न संरचनामा महिलाको भूमिका विस्तार गर्न सरकारले विशेष जोड दिएको छ।’

प्रधानमन्त्री प्रचण्डले तीनै तहका सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र तथा सरोकारवाला निकायबाट महिलाको क्षमता विकास, श्रम, सीप र सिर्जनालाई विकास प्रक्रियामा आवद्धता, लैङ्गिक मूलप्रवाहीकरण र सशक्तिकरणको लागि अधिकतम लगानी गर्न आवश्यक रहेकोमा जोड दिएका छन्।

महिलामा गरिने लगानीले महिलासँगै परिवार, समाज हुँदै समग्र राष्ट्रलाई नै समृद्धिको मार्गमा पुर्‍याउनुका साथै लैङ्गिक समतामूलक राष्ट्र निर्माणमा समेत सहयोग पुर्‍याउने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

‘विभिन्‍न अन्तर्राष्ट्रिय मञ्‍चहरूले समेत लैङ्गिक समानता र महिलाको सशक्तिकरणलाई विशेष जोड दिएको विषय सर्वविदितै रहेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी निवारण, जीविकोपार्जनमा सुधार, सामाजिक सुरक्षा, पूर्वाधार तथा प्रविधिमा पहुँच लगायतका विषयमा महिला लक्षित कार्यक्रमहरूमा लगानीलाई थप प्रभावकारी बनाउन आवश्यक देखिन्छ,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘महिलाको अर्थपूर्ण सहभागिता, प्रतिनिधित्व र नेतृत्व विकासमा जोड दिँदै महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र शोषणको अन्त्य गर्न जरुरी छ। महिलाको समान अग्रसरता र नेतृत्वदायी भूमिका स्थापित गर्दै स्रोत, साधन, अवसर तथा लाभमा समान पहुँच सुनिश्‍चित गर्न र समानताको व्यवहारिक प्रत्याभूति दिलाउन आवश्यक देखिन्छ।’


सम्बन्धित समाचार