Logo

२७ फागुन, जनकपुर । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका अगुवा नेता राजेन्द्र महतोले अहिलेसम्म नेपाल सबै नेपालीको देश बन्न नसकेको बताएका छन् ।

जनकपुरधाममा शनिबार राष्ट्रिय मुक्ति क्रान्ति, मधेस व्युरोद्वारा आयोजित बहुल राष्ट्रिय राज्य स्थापनार्थ बृहत् संवादात्मक कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेता महतोले सबै नेपालीको देश बन्नका लागि बहुल राष्ट्रिय राज्यको रुपमा स्थापित हुनु आवश्यक रहेको बताए ।

पूर्वमन्त्रीसमेत रहेका लोसपा नेपालका पूर्व वरिष्ठ उपाध्यक्ष महतोले अहिलेको गठबन्धन पनि लुटतन्त्र मचाउनका लागि भएकाले नेपाली जनताले अहिलेको सरकारबाट केही प्राप्त गर्न नसक्ने दाबी गरे ।

उनले गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभइ कुर्सी बचाउनका लागि मात्रै भएकोले यो गठबन्धन पनि कुर्सीकै खेलका लागि निर्माण भएको बताए ।

समनको सहकार्यमा भएको सो कार्यक्रममा उनले बहुल राष्ट्रिय राज्य नबनेसम्म नेपाल सम्पूर्ण नेपाली जनताको देश बन्न नसक्ने बताए ।

अभियनका नेता महतोले भने, ‘सबै नेपालीको देश बन्नका लागि बहुल राष्ट्रिय राज्यको रुपमा स्थापित हुनु आवश्यक छ ।’ उनले अघि थप्दैँ भने– ‘अहिले नेपाल एकल राज्यको रुपमा स्थापित छ, सबै राष्ट्रियता तथा सबै अधिकारवादी र पहिचानवादीहरुको देश बनाउनका लागि एकत्रित रुपमा अन्दोलन गर्नु अहिलेको आवश्यकता रहेको छ ।’

उनले मधेश केन्द्रित दलहरुबीच एकताभन्दा पनि अधिकारवादी तथा पहिचानवादीहरु एकत्रित हुनु पर्ने बताए ।

कार्यक्रममा सहभागी भएका लोसपा नेपालका उपाध्यक्ष कौशलकुमार सिंहले अहिले राष्ट्रिय मुक्तिका लागि अभियान चलिरहेकाले आफु यस कार्यक्रममा सहभागी भएको दाबी गरे । उनले अहिले यो अभियान कुनै पनि पार्टी नभइसकेकाले आफुसमेत सहभागी भएको प्रस्ट्याए । यस कार्यक्रममा अधिकांश लोसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताहरुको उल्लेखीय सहभागी रहेको थियो ।


सम्बन्धित समाचार