२३ असार, काठमाडौं । भारतबाट अवैध रुपमा ल्याएको १४ किलो २५० ग्राम चाँदीका गहना सहित तीन जना भारतीय नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतवार पक्राउ गरेको छ ।
भारतीय बीआर ०६ यू ९०५३ नम्बरको गाडीमा राखेर काठमाडौं स्थित न्यूरोडमा तर्फ उक्त परिमाणको चाँदी लैजान लगोको अवस्थामा गाडी सहित भारतीय नागरिक २२ वर्षीय अमन कुमार, २६ वर्षीय विकीकुमार साह र सवारी चालक श्रवणप्रसाद कानु पक्राउ परेका हुन ।
ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीमा चाँदीका गरगहना राखेर अवैध रुपमा ल्याइँदै गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं एसपी होविन्द्र बोगटीले बताए ।
उनका अनुसार, प्रहरीले सानो गौचरणस्थित अटो सर्भिसेज प्रालि नामक वर्कसपभित्र राखेको अवस्थामा बीआर ०६ यू ९०५३ नम्बरको गाडी पनि बरामद गरेको छ । एसपी बोगटीका अनुसार, गाडीको डिकीमा लुकाएर राखेको अवस्थामा चाँदीका गहनाहरु बरामद भएको थियो ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको बोगटीले बताए ।
नेपाल राष्ट्र बैकले कुनै एउटा आयातकर्ताले एकपटकमा ६० हजार अमेरिकी डलर वा सो बराबरको अन्य विदेशी मुद«ाको सटही सुविधा लिनेगरी चाँदी आयात गर्न पाउँने व्यवस्था गरेको छ ।
जसले गर्दा एउटा आयातकर्ताले प्रति पटक जम्मा ६० के.जी. सम्म आयात गर्न सक्नेछ । नेपालमा चाँदी आयातकर्ताहरुको सँख्या ७ देखि ९ सम्म रहेको छ । जसले गर्दा अहिलेको माग अनुसारको चाँदी आयात हुन नसकेकोले धेरै चाँदीका गरगहना र सजावटका सामानहरु बनाउने उद्योग तथा कारखानाले नियम विपरित विभिन्न विचौलियाहरुबाट चाँदी किन्न बाध्य भएको बताउदै आएका छन् ।
बजारको माग अनुसार चाँदी वैधानीक मार्ग भएर आउन नसक्दा राज्यलाई बार्षिक २ अर्ब राजश्व घाटा भएको छ । सरकारको नीतिले अहिले बार्षिक २८ हजार किलो मात्र नेपालमा चाँदी आउने गरेको छ । जवकी नेपालको बजारमा अहिले पनि चाँदीको माग बार्षिक झण्डै २ लाख किलो छ ।