
९ चैत, वीरगञ्ज । नेकपा एमाले पर्साका नेताहरुले पार्टी परित्याग गर्न थालेका छन् । नेकपा एमालेका नेता हरिनारायण चौधरी र पवन तिवारीले एमाले परित्याग गरेको घोषणा गरेका छन् ।
केही महिना पहिले पटेर्वा सुगौली गाउँपालिकाका पूर्व अध्यक्ष हरिनारायण चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेका थिए । शुक्रबार मात्रै नेकपा एमाले पर्साका प्रवक्ता पवन तिवारीले पनि एमाले पार्टी परित्याग गरेको घोषणा गरेका थिए । नेकपा एमालेमा दलाल प्रवृत्ति बढेको र पार्टी विधि र नियममा नचलेको भन्दै पार्टी परित्याग गरेको घोषणा गरेको बताएका छन् ।
पटेर्वा सुगौली गाउँपालिकामा यसअघि निर्वाचित अध्यक्ष हरिनारायण चौधरीले नेताहरु जनताको काममा भन्दा व्यक्तिगत स्वार्थ र दलालीमा बढी केन्द्रीत हुने र जनताको पीरमर्कामा साथ नदिएको भन्दै पार्टी परित्याग गरेको घोषणा गरेको विज्ञप्ति मार्फत जानकारी गराएका थिए ।
त्यस्तै एमाले पर्साको प्रवक्ता समेत रहेका तिवारीले पनि पार्टीमा दलाल प्रवत्ति हावी भएकोले पार्टीमा रहन नसकेको बताए । नेकपा एमालेभित्र आन्तरिक असन्तुष्टिहरु तीब्र रुपमा देखिएको र धेरै नेता कार्यकर्ताहरुले पार्टी छाड्ने तिवारीको दावी छ । नेकपा एमाले पार्टीको नेतृत्वले सांगठनिक विधि, पद्धति भन्दापनि दलाली, चाकरी गर्नेहरुलाई बढी प्राथामिकता दिने गरेको पार्टी परित्याग गर्नेहरुको भनाई छ ।
यसैबीच अकुल यादवले पनि एमाले परित्याग गरी माओवादीमा फर्किएका छन् । नेकपा विभाजनको कठिन समयमा नेकपा एमाले रोजेका यादवले एमाले परित्याग गरेर शनिबार पुनः आफ्नो मूलधार नेकपा (माओवादी केन्द्र) मा घरवापसी गर्नुभएको छ । आज नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति पर्साको राधेमाई स्थित कार्यालयमा मधेश प्रदेश सहइन्चार्ज महेन्द्र पासवानको बिशेष उपस्थितिमा नेकपा माओवादी केन्द्रमा फिर्ता भएका हुन् ।
उहाँलाई प्रदेश सहइञ्चार्ज पासवान सहित जिल्ला इन्चार्ज विजय महतो, निवर्तमान जिल्ला अध्यक्ष रामदरश कुशवाहाले टिका र खादा लगाएर स्वागत गरेका थिए । एमालेमा आन्तरिक असन्तुष्टिले ठूलै नेताहरु पनि पार्टी छाड्ने मनस्थितिमा रहेको स्रोतको दावी छ ।