Logo

११ चैत,जनकपुरधाम । मधेस प्रदेश सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारलाई आगामी बजेट तथा कार्यक्रममा प्राथमिकता दिने भएको छ। प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा जनकपुरको ढलकेमा आयोजित यौनिक तथा लैङ्गिक अल्पसंख्यकका सवाल सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री प्रमोद जयसवालले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

मन्त्री जयसवालले आगामी बजेटको नीति तथा कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्दाहरूलाई समावेश गर्न जोड दिने बताए। उनले भने, “आउदो बजेटको नीति तथा कार्यक्रममा समावेश गराउन जोड दिनेछु।“ साथै, उनले कानूनमा उल्लेख भएका अधिकारहरूलाई व्यवहारमा समेत कार्यान्वयन गराउन सरकारले विशेष ध्यान दिने बताए। “कानुन मा लेदिएको कुरार्ला बहवार मा लागु गराउन तर्फ जोड दिनु पर्छ,“ मन्त्री जयसवालले भने।

कार्यक्रममा मन्त्री जयसवालले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सरोकारवालाहरूसँग प्रत्यक्ष छलफल गरेका थिए। यस अन्तरक्रिया कार्यक्रमको मुख्य उद्देश्य यस समुदायका समस्या, चुनौती र अधिकारका विषयमा विस्तृत छलफल गर्नु थियो।

मधेस प्रदेश सरकारको यो कदमले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हकहित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। आगामी बजेट र कार्यक्रममा यस समुदायलाई प्राथमिकता दिने मन्त्रीको प्रतिबद्धताले उनीहरूको जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार