Logo

११ चैत,काठमाडौं । राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत दिँदै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच एकताको लागि तीव्र तयारी भइरहेको छ। दुवै दलले पार्टी एकता र अन्य महत्वपूर्ण विषयमा छलफल गर्न राष्ट्रिय परिषद् समितिको बैठक आह्वान गरेका छन्।

जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए अनुसार, बैठकको मुख्य उद्देश्य दुई पार्टीबीचको एकतालाई ठोस रूप दिनु र आगामी कार्यदिशा तय गर्नु हो। जनमत र नाउपाको एकता सहमति नजिक पुगेको खबरले दुवै पार्टीका सदस्य र समर्थकहरूमा उत्साह छाएको छ।

दुई दलबीच भएको प्रारम्भिक छलफल अनुसार, एकतापछि पार्टीको नाम ’नागरिक जनमत पार्टी’ रहने सम्भावना छ। यसैगरी, पार्टीको नेतृत्वमा अध्यक्षको रूपमा डा. सीके राउत, संरक्षकको रूपमा रेशम चौधरी र सह–अध्यक्षको रूपमा रञ्जिता श्रेष्ठ रहने गरी छलफल अगाडि बढेको छ। पार्टीको चुनाव चिन्ह ’ढकिया’ प्रस्ताव गरिएको छ।

यो महत्वपूर्ण बैठक पार्टी कार्यालय मध्य बानेश्वर नजिकैको सनराइज क्याफेमा शुक्रबार बिहान ९ बजे बस्ने तय भएको छ। प्रवक्ता यादवले राष्ट्रिय परिषद्को बैठकमा ७० भन्दा बढी सदस्यहरूको उपस्थिति रहने जानकारी दिएका छन्।

दुई प्रभावशाली दलहरूको यो एकताले आगामी दिनमा मधेश प्रदेश लगायत समग्र राष्ट्रिय राजनीतिमा एक सशक्त राजनीतिक शक्तिको उदय हुने सम्भावना बढेको छ।


सम्बन्धित समाचार