
१२ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तापक्षबाटै विरोध भएको छ । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले सरकारको निर्णयको आलोचना गरेका हुन् ।
महामन्त्री थापाले घिसिङलाई पदबाट हटाएर सरकारले असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको टिप्पणी गरेका छन् । सरकार सञ्चालन गर्न सहयोग गर्ने संयन्त्रका सदस्य समेत रहेका थापाले यस्तो टिप्पणी गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। सोमबार साँझ सामाजिक सञ्जालमार्फत प्रचण्डले सरकारको निर्णयका भर्त्सना गरेका हुन्।
‘देशमा जनताले चरम लोडसेडिंगको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जन जनमा जानकारी छ’ उनले लेखेका छन्, ‘उनै कुलमान घिसिङलाई बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समय देखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो।’
उनले भनेका छन्, ‘सरकारले मन्त्रिपरिषद बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट थाह हुन आएको छ’ प्रचण्डले भनेका छन्, ‘आशा गरौं यो खबर असत्य सावित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ। दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु।’