
१२ चैत,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसका दुई महामन्त्रीहरूले कडा असन्तुष्टि व्यक्त गरेका छन्। गगन थापा र विश्वप्रकाश शर्मा दुवैले कुलमानलाई हटाउने निर्णयको आलोचना गर्दै सरकारले गलत कदम चालेको बताएका छन्।
महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्दै भनेका छन्, “हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन।“ उनले यो निर्णय गलत भएको र उल्टो बाटो हिँडेर सही गन्तव्यमा पुग्न नसकिने टिप्पणी गरेका छन्।
थापाले आम नागरिकमा बढ्दो असन्तुष्टिको बीचमा सरकारले थप निराशा फैलाउने काम गरेको आरोप लगाएका छन्। “आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सल्बलाइरहेको छ,“ उनले भने, “यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने?“
यसैगरी, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयप्रति आपत्ति जनाएका छन्। उनले भने, “कारबाही योग्य भए पछि पनि गर्न मिल्थ्यो। केही राम्रा प्रयास छायामा पार्नेगरी सरकारकाले कुलमान हटाउन हुन्न थियो। सरकारले यो निर्णय समयोचित विल्कुलै थिएन। यसप्रति खुला र प्रष्ट रुपमा विमति छ।“
उल्लेखनीय छ कि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएर हितमान शाक्यलाई नियुक्त गरेको थियो। सरकारको यो निर्णयले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।