Logo

७ बैशाख, सेढवा (पर्सा) । पर्सा जिल्लाको कृषि क्षेत्र दुई फरक दृश्य देखिएको छ । गण्डक नहरको पहुँच अनुसार यहाँका किसानहरूको बालीचक्र फरक–फरक बनेको छ । गण्डक नहरको उत्तरतर्फको थरुहट क्षेत्रमा वार्षिक तीन बाली उत्पादन हुने गरेको छ भने दक्षिणतर्फको बझियान क्षेत्रमा तीन महिनासम्म खेत बाँझो रहने अवस्था रहेको छ ।

गण्डक नहरको उत्तरतर्फ पर्ने ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र वीरगंज महानगरपालिकाका केही वडाका किसानहरूले वार्षिक तीन बाली खेती गर्दै आएका छन् । यहाँ चैते धान, अगहनी धान र त्यसपछिको समयमा गहुँ, मकै, सुर्ती, तेलहन, दलहन, तथा तरकारी खेती गरिन्छ ।

हाल, किसानहरूले हर्दिनाथ–२ (१४४२) जातिको चैते धान रोपेका छन् । जुन ९० दिनमा तयार हुनेछ । त्यसपछि उनीहरूले अगहनी धान लगाउने तयारी गर्नेछन् ।

थरुहट क्षेत्रमा कुलो, बाँध, खोला, नहर र बोरिङको राम्रो व्यवस्था रहेको छ । अधिकांश किसानहरूले पम्पसेट र कृषि मिटर प्रयोग गरेर सिंचाइ गर्दै आएका छन् । सोलर वाटर पम्पको पनि उपयोग गरिएको छ, जसले किसानहरूलाई कम खर्चमा सिंचाइ सुविधा उपलब्ध गराएको छ ।

कृषि ज्ञान केन्द्र पर्सा र स्थानीय पालिकाले बोरिङ र पम्पसेटमा अनुदान सहयोग दिँदै आएका छन्, जसले खेतीमा उत्साह थपेको छ ।

गण्डक नहरको दक्षिणतर्फको बझियान क्षेत्रमा भने वार्षिक दुई बाली (एक धान र एक गहुँ) मात्रै लगाइन्छ । धोबिनी, बिन्दावासिनी, पकाहामैनपुर, छिपहरमाई, कालिकामाई गाउँपालिका र पोखारिया नगरपालिका गण्डक नहरको दक्षिणतर्फको बझियान क्षेत्रमा पर्दछ । यहाँका ८५ प्रतिशत खेत वैशाख, जेठ र असार महिनामा बाँझो रहन्छ । पाँच प्रतिशत किसान मात्र चैते धान, र १० प्रतिशतले तरकारी खेती गर्छन् ।

सिंचाइको भरपर्दो व्यवस्था नहुँदा तीन महिनासम्म खेती हुन सक्दैन । यहाँको सिंचाइ पूर्णरूपमा आकाशे पानीमा निर्भर छ, जसका कारण किसानहरू उत्पादनमा सधैं चिन्तित हुने गरेका छन् ।

बझियान क्षेत्रका किसानहरूलाई वैकल्पिक सिंचाइ सुविधा उपलब्ध गराउने स्थानीय पालिकाहरूले प्रतिबद्धता जनाउँदै आएका छन् । तर, अहिलेसम्म यसलाई प्राथमिकतामा राखेर ठोस काम नभएको किसानहरूको गुनासो छ ।

पर्सा जिल्लाको कृषि उत्पादनमा सिंचाइ सुविधाको सीधा असर देखिएको छ । सिंचाइ सुविधा भएको क्षेत्रमा बालीको उत्पादन उच्च रहेको छ । भने सिंचाइ सुविधा नभएको क्षेत्रमा खेती सुक्खा र सीमित भएको छ । बझियान क्षेत्रको बाँझो जग्गा उत्पादनशील बनाउनेतर्फ जनप्रतिनिधिहरुले तत्काल ध्यान दिन जरुरी देखिएको कृषि विज्ञहरुको भनाई छ ।


सम्बन्धित समाचार