Logo

१४ बैशाख, वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्ज स्थित कृषि औजार कारखानाको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै ३२ महिनामा १६ वटा  विभिन्न प्रकारका कृषि औजारहरूको अनुसन्धान र विकास गरेको छ । यस कार्यले नेपालका कृषकहरूको आवश्यकता अनुसार उच्च गुणस्तरीय औजार उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

कारखानाका प्रमुख इञ्जिनियर रितेश देवले दिएको जानकारी अनुसार केन्द्रले पराल काट्ने, धान काट्ने रिपर, आलु रोप्ने, गोबर पेल्ने, चाँप कटर लगायतका साना र ठूला कृषि औजारहरूको विकास गरेको छ । यी औजारहरू विशेष गरी नेपालका कृषकहरूको दैनिक कामलाई सजिलो र दक्ष बनाउन डिजाइन गरिएको छ। साथै, यी औजारहरूको व्यावसायिक उत्पादन भने अनुसन्धान र विकासको चरणमा रहेको छ, यद्यपि केही सामान्य औजारहरू बिक्री वितरण गर्न थालिएका छन् ।

केन्द्रले ५० लाख रुपैयाँको लगानीमा सिएनसी मेसिन पनि खरिद गरेको छ, जसले औजार उत्पादन प्रक्रियामा सहजता र सरलता ल्याएको छ । यसले इञ्जिनियर र प्राविधिक कर्मचारीहरूलाई काम गर्ने प्रक्रियालाई द्रुत र प्रभावकारी बनाएको छ ।

अहिले कृषि औजार कारखानामा ३६ जना कार्यरत छन्, । नेपालका किसानहरूको लागि अत्यावश्यक कृषि उपकरणहरू उत्पादन गर्नु आविष्कार केन्द्रको उदेश्य भएको देवले बताए ।

प्रमुख इञ्जिनियर देवले भने, “कृषि औजार कारखाना राज्यको स्वामित्वमा भएकाले यसका लागि सरकारले कच्चा पदार्थमा भन्सार छुटको व्यवस्था गर्न आवश्यक छ, ताकि हामी विदेशमा बनेका औजारहरूको प्रतिस्पर्धा गर्न सक्षम हौं ।”

यस कारखानाले प्रारम्भिक चरणमा कृषि औजारहरूको उत्पादन गरेर विदेशमा पनि निर्यात गरेको थियो, तर व्यवस्थापनमा आएका समस्याहरूका कारण २०५९ सालसम्म कारखाना बन्दको अवस्थामा पुगेको थियो । २०२२ सालको भदौ महिनामा मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी राष्ट्रिय आविष्कार केन्द्रलाई १० वर्षका लागि दिने निर्णय गरेको थियो, जसले कारखानालाई पुनर्जीवित गर्न सहयोग पुर्याएको छ ।

कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले कृषि औजार कारखानाको पुनर्जीवीकरणका लागि सरकारको सहजीकरण जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

केन्द्रको पुनर्जीवित प्रयासले देशका किसानहरूलाई सस्तो र गुणस्तरीय कृषि औजार उपलब्ध गराउने सम्भावना उजागर गरेको छ, । यसबाट नेपालको कृषि क्षेत्रलाई ठूलो लाभ पुग्ने देखिएको छ ।


सम्बन्धित समाचार