Logo

१७ बैशाख, सेढवा (पर्सा) । पर्सा जिल्लाको ग्रामीण भेगमा यस वर्ष खेतीयोग्य जमिनको जरपेश्की रकममा उल्लेख्य वृद्धि भएको छ। किसानहरूका अनुसार यो वृद्धि ५० प्रतिशतभन्दा बढी रहेको छ।

जग्गाधनीले अन्य व्यक्तिसँग निर्व्याजी रकम सापटी लिएर आफ्नो जग्गा खेती गर्न दिने प्रचलनलाई जरपेश्की भनिन्छ। गत वर्ष प्रति बिघा खेतको जरपेश्की रकम चारदेखि पाँच लाख रुपियाँसम्म थियो। तर, यस वर्ष सोही क्षेत्रफलको जग्गाका लागि छव लाखदेखि सात लाख रुपियाँसम्म सापटी दिनुपरेको किसानहरूले बताएका छन् ।

कतिपय किसानले गत वर्ष लिएको चार लाख रुपियाँमा यस वर्ष थप रकम बुझाएर तोकिएको जरपेश्की रकम पुर्‍याएको जानकारी दिएका छन्। किसानहरूले खेतीबाट राम्रो उत्पादन गर्न थालेपछि जरपेश्की रकम बढेको अनुमान गरिएको छ।

उनीहरूले एक वर्षमा तीन बाली सम्म उत्पादन गर्न सफल भएको र कृषि कार्यका लागि आधुनिक मेसिन तथा कीटनाशक औषधिको प्रयोग बढेकोले खेती गर्न सहज भएको बताएका छन् ।

यसका साथै उन्नत जातका हाईब्रिड धान, गहुँ तथा अन्य बालीको बीउको प्रयोगले उत्पादनमा वृद्धि भएको र सिँचाइका लागि भूमिगत सिँचाइको सुविधा थपिएका कारण पनि जरपेश्की रकम बढेको किसानहरूको भनाइ छ।

यसैबीच, देशमा बढेको आर्थिक मन्दीका कारण विभिन्न पेशा र व्यवसाय बन्द भएकाले खेती गर्ने किसानको संख्यामा वृद्धि भएको छ। यसले पनि जरपेश्की रकम बढ्नुको कारण हुनसक्ने अनुमान गरिएको छ।


सम्बन्धित समाचार