Logo

२१ बैशाख, सेढवा । लामो समयको खडेरीपछि आईतबार बिहान परेको वर्षाले मधेश प्रदेशका ग्रामीण भेगका किसानहरूलाई ठूलो राहत मिलेको छ। विशेषगरी चैते धानबाली लगाइरहेका किसानहरूले यो वर्षालाई अमृत समान मानेका छन्।

जिराभवानी गाउँपालिका वडा नम्बर २ सेढवाका किसान नागेश्वर महतो थारुले आठ कट्ठा खेतमा चैते धान रोप्न दुई पटक सिँचाइ गर्दा ३५ घण्टासम्म पम्प चलाउनुपरेको दुखेसो पोखे। निजी बोरिङ नभएकाले प्रतिघण्टा दुई सय रुपैयाँका दरले सात हजार रुपैयाँ सिँचाइमा खर्च भएको उनले बताए। तर आजको वर्षाले सिँचाइको आवश्यकता कम हुने र पानी पनि लामो समयसम्म खेतमा टिक्ने हुँदा राहत महसुस भएको उनले जानकारी दिए।

त्यस्तै, ठोरी गाउँपालिकामा चैत महिनामै चैते धान रोपिएकोले अहिले बिरुवामा गाभा पलाउन थालेको छ। यो वर्षाले त्यहाँका किसानहरूलाई पनि निकै फाइदा पुगेको छ। यो पानीले चैते धानबाली मात्र नभई अन्य बालीहरू जस्तै सुर्ती, मकै, विभिन्न किसिमका तरकारी र बदामलाई पनि फाइदा पुर्याएको किसानहरूले बताएका छन्।

यता, जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ का धर्म साह तेलीले लामो समयदेखि पानी नपरेका कारण खेतको सतह सुख्खा र कडा भएकाले खनजोत गर्न समस्या भइरहेको बताए। तर आजको वर्षाले खेतको सतह नरम र खुकुलो बनाएकाले अब खेत जोत्न र आली लगाउन सहज हुने उनको भनाइ छ।

जिराभवानी गाउँपालिका कृषि शाखाका प्राविधिक सहायक क्षत्रबहादुर गुप्ताले बैशाख जेठको घाममा खेत खनजोत गर्दा जमिनको सतहमा रहेका विभिन्न हानिकारक जीव, कीटाणु र तिनका अण्डाहरू नष्ट हुने बताए। यसले बाली रोपाइँपछि लाग्न सक्ने रोगहरूको जोखिम कम हुने उनको भनाइ छ।

आज बिहानको वर्षाले वातावरणलाई पनि स्वच्छ बनाएको छ। वायुमण्डलमा मिसिएको धुलो र धुवाँ कम भएको छ। ग्रामीण भेगका कच्ची सडकहरू धुलाम्य भएका थिए, तर वर्षाले ती सडकहरूलाई पनि सफा बनाएको छ।

अत्यधिक गर्मी र खडेरीले आजित भएका किसानहरूका लागि यो वर्षाले नयाँ आशाको सञ्चार गराएको छ। बालीनाली सप्रिने र सिँचाइको समस्या कम हुने भएपछि किसानहरू उत्साहित भएका छन्।


सम्बन्धित समाचार